काठमाडौं– नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको प्रयोग गरे बापत् विद्युत महसुल तिर्न आह्वान गरेको छ। आज सूचना जारी गर्दै प्राधिकरणले देशभरका स्थानीय तहले सडक बत्ती प्रयोग गरे बापत् भुक्तानी नगरेको जनाएको हो।
प्राधिकारणका अनुसार देशभरका विभिन्न स्थानीय तहहरुले सडक बत्ती प्रयोग गरे बापत् करिब ६ अर्ब रुपैयाँ भन्दा बढी विद्युत महसुल तिर्न बाँकी रहेको जनाएको छ। प्राधिकरणले रकम तिर्न बाँकी रहेका स्थानीय तहलाई बक्यौता तिर्न अनुरोध गरेको छ।
प्राधिकरणले हालसम्म प्रयोग गरिएका सडक बत्तीको बक्यौता महसुल समर्थन गरि आवश्यक भएमा किस्ताबन्दीमा तिर्न सक्ने सुविधा उपलब्ध गराउन तयार रहेको समेत सूचना मार्फत जनाएको छ।
यस्तै, बक्यौता महसुल नतिर्ने र बिना मिटर जडान गरिएका सडक बत्ती प्राधिकरणले हटाउने चेतावनी पनि दिएको छ। यसरी कारबाही अघि बढाउनु पहिला नै रीतपूर्वक ग्राहक बनेर मिटर माफर्त सडक बत्ती जडान गर्न प्राधिकरणले भनेको छ।
प्राधिकरणले रीतपूर्वक सडक बत्तीको ग्राहक बन्ने, बक्यौता महसुल समर्थन नगर्ने, महसुल नतिर्ने र बिना मिटर प्राधिकरणको स्वीकृति नलिई अनाधिकृत रुपमा सडक बत्तीको प्रयोग गर्ने स्थानीय तह र कार्यलयको विद्युत लाइन काट्ने चेतावनी दिएको छ।
प्राधिकरणको सूचना