पाेखरा-अल्पमतमा रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामाकाे तयारी गरेका छन् । पुनः मुख्यमन्त्री बन्ने दाउमा रहेका मुख्यमन्त्री पाण्डे संविधानको धारा १६८ उपधारा ३ अनुसार सरकार बनाउन राजीनामाकाे तयारी गरेका हुन् ।
फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको पाण्डे सरकारलाई चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । प्रदेश सभा नियमावलीअनुसार आज मंगलबार दिउँसोसम्ममा विश्वासको मत लिने भए संसद सचिवालयमा सूचना पठाइसक्नुपर्छ । तर, मुख्यमन्त्री पाण्डेले संसदबाट विश्वासको मत लिँदा बहुमत आउने नदेखेपछि आज ३ बजे उपलब्ध सांसदहरुसंग छलफल गरेर राजीनामा दिन लागेका हुन् ।
प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् । बहुमत पुर्याउन ३१ सांसद आवश्यक हुन्छ ।
बहुमत पुर्याउन मुख्यमन्त्री पाण्डेले सांसद राजीव गुरुङ (दीपक मनाङे)लाइ भौतिक पूर्वाधार मन्त्री बनाएका थिए । माओवादी केन्द्रको चुनाव चिन्ह्रबाट निर्वाचित नेपाल समाजवादीका सांसद फणीन्द्र देवकोटाको मत पनि आफूले पाउनेमा मुख्यमन्त्रीले आशावादी छन् । त्यसो हुंदा मुख्यमन्त्रीलाई बहुमत पुर्याउन राप्रपाका साथ भए पुग्छ ।
मुख्यमन्त्री पाण्डेले दुई सांसद रहेको राप्रपालाई फकाउन दुवैलाई मन्त्री बनाउने प्रस्तावसमेत गरेका थिए । तर, राप्रपाले त्यसलाई अस्वीकार गरेको नेताहरु बताउँछन् । राप्रपाले चैत २७ गते आन्दोलनअघि सरकारमा जाने नजाने कुनै निर्णय नलिने देखेपछि मुख्यमन्त्री पाण्डे त्यस अगावै पुनः मुख्यमन्त्री बन्ने दाउका साथ राजीनामा दिन तयार भएका हुन् ।
अहिलेको समीकरण अनुसार एमाले र माओवादी मिलेर मात्र सरकार बन्ने स्थिति नहुँदा गठबन्धनलाई दबाब उत्तिकै छ । एमालेका २२ र सभामुखसहित माओवादीका ८ सांसदले मात्र ६० सदस्यीय प्रदेश सभामा बहुमत पुग्ने स्थिति छैन । त्यसका लागि राप्रपा निर्णायक देखिन्छ ।
संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा पनि विपक्षीको सरकार बन्न नसक्ने हुँदा ठूलो दलको हैसियतमा फेरि आफू नै मुख्यमन्त्री बन्ने रणनीति मुख्यमन्त्री पाण्डेले बनाएका छन् ।
१६८ (३) बमोजिम प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरु भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखबाट आह्वान भएसँगै ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त हुने र एक महिना भए पनि लब्याउने योजनामा रहेको उनी निकट नेताहरुले बताउँछन् ।