काठमाडौं– नेपाल विद्युत प्राधिकरणले स्थानीय तहहरुलाई सडक बत्तीको बक्यौता भुक्तानीका लागि पुन: आह्वान गरेको छ।
आज सूचना जारी गरेर प्राधिकरणले स्थानीय तहलाई पटकपटक भुक्तानीका लागि आग्रह गरे पनि सो अनुसार काम नभएको भन्दै त्यस्ता स्थानीय तहमा रहेका सडक बत्तीहरुको विद्युत लाइन जुनसुकै बेला काटिन सक्ने चेतावनी दिएको छ।
चैत १६ गते प्राधिकरणले सूचना जारी गर्दै देशभरका स्थानीय तहले सडक बत्ती प्रयोग गरे बापत् भुक्तानी नगरेको भन्दै सडक बत्तीको प्रयोग गरे बापत् विद्युत महसुल तिर्न आह्वान गरेको थियो। सो आधारमा केही स्थानीय तहले बक्यौता महुसल समर्थन गरि भुक्तानी गर्ने प्रतिबद्धा व्यक्त गरेका छन्। यस्तै, केहीले भुक्तानी पनि गरेको प्राधिकरणले जनाएको छ।
तर, धेरै स्थानीय तहले अझै भुक्तानी दिनेबारे कुनै प्रक्रिया अघि नबढाएको भन्दै आज फेरि सूचनाी जारी गरेको हो।
प्राधिकारणका अनुसार देशभरका विभिन्न स्थानीय तहहरुले सडक बत्ती प्रयोग गरे बापत् करिब ६ अर्ब रुपैयाँ भन्दा बढी विद्युत महसुल तिर्न बाँकी रहेको जनाएको छ।
प्राधिकरणले स्थानीय तहलाई हालसम्म प्रयोग गरिएका सडक बत्तीको बक्यौता महसुल समर्थन गरि आवश्यक भएमा किस्ताबन्दीमा तिर्न सक्ने सुविधा उपलब्ध गराएको छ।
यस्तै, बक्यौता महसुल नतिर्ने र बिना मिटर जडान गरिएका सडक बत्ती हटाउने चेतावनी प्राधिकरणले यसअघि नै दिइसकेको छ। यसरी कारबाही अघि बढाउनु पहिला नै रीतपूर्वक ग्राहक बनेर मिटर माफर्त सडक बत्ती जडान गर्न प्राधिकरणले भनेको छ।
प्राधिकरणले रीतपूर्वक सडक बत्तीको ग्राहक बन्ने, बक्यौता महसुल समर्थन नगर्ने, महसुल नतिर्ने र बिना मिटर प्राधिकरणको स्वीकृति नलिई अनाधिकृत रुपमा सडक बत्तीको प्रयोग गर्ने स्थानीय तह र कार्यलयको विद्युत लाइन काट्ने चेतावनी दिएको छ।