गाेरखा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् ।
गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आज आयोजना गरेको कार्यक्रमकाबीच प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त गरे । उनले जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उल्लेख गरे ।
गोरखा जिल्लाको जनप्रतिनिधिका हैसियतले यहाँको विकास निर्माणमा आफू निरन्तर लागिपर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले गोरखकाली उद्योग, बुढीगण्डकी जलविद्युत आयोजना एवम् पार्क निर्माणमा आफ्नो ध्यान जाने बताए ।
गोरखा जिल्लामा फेला पारिएको ५२.३३० केजीको उक्त धातु पुरातत्व विभागले बहुमूल्य भएको प्रमाणित गरेको थियो।
कहाँ र कसरी भेटियो?
गत असार १४ गते गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपलका चन्द्रमान शाहीको घरबाट पारदर्शी ढुंगा प्रहरीले बरामद गरेको थियो।
लामो सयम प्रहरी कार्यालयमै राखिएको उक्त ढुंगाको गत साउन अन्तिम साता खानी तथा भूगर्भ विभागको टोलीले परीक्षण गरेको थियो।
त्यसबेला विभागका भूगर्भविदहरूले परीक्षण गरी उक्त ढुंगा बहुमूल्य क्वार्ज क्रिष्टल भएको रिपोर्ट दिएका थिए। भूगर्भविदहरूले खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ अनुसार बहुमूल्य क्वार्ज क्रिष्टल विभागलाई बुझाउनुपर्ने बताएका थिए। तर त्यसलाई गोरखामै राख्न दबाब बढेको थियो।
उक्त ऐनको दफा २५ मा अनुमति नलिई निकालिएको खनिज पदार्थ जफत गर्नुका साथै त्यस्तो व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ। शाही परिवारले उक्त पत्थर पुस्तौँदेखि देवताका रूपमा पुज्दै आएका थिए। आफ्ना पुर्खाले उक्त क्वार्ज क्रिस्टलको संरक्षण गरेर राखेको उक्त परिवारको दाबी थियो।
शाही परिवारले उक्त पारदर्शी ढुंगालाई कुलदेवाताका रूपमा पुज्थे। प्रहरीले बरामद गरिसकेपछि शाही परिवारले प्रहरी कार्यालयमै उक्त ढुंगाको पूजा गर्ने गरेको थियो। शाही परिवारले देवताका रूपमा पुज्ने गरेको उक्त ढुंगालाई अन्तत: गोरखाबासीको दबाबमा काठमाडौं नलगी त्यही प्रतिष्थापन गरिएको हो।