गोरखा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रमा भएको सत्ता समीकरण फेरबदलले स्थानीय सरकारका कामकारवाही र सेवा प्रवाहमा कुनै असर नपर्ने बताएका छन् ।
गोरखाका कार्यालय प्रमुखहरूलाई निर्देशनक दिने क्रममा प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारका प्रमुखलाई ढुक्क भएर जनताका काम गर्न निर्देशन दिए।
जिल्लामा रहेका संघीय र प्रादेशिक कार्यालयहरूले आयोजना र कार्यक्रम तर्जुमा गर्दा स्थानीय तहसंग समन्वय गर्नुपर्नेमा जोड दिँदै उनले आयोजनामा देखिने दोहोरोपनकाे अवस्था हटाउनुपर्ने बताए।
उनले भने, ‘केन्द्र र प्रदेश आयोजना छनोट गर्दा स्थानीय सरकारको सिफारिस लिने र सोको अभिलेख स्थानीय सरकारसँग रहनेगरी समन्वय गर्नुहोला ।’
स्थानीय सरकारले कानुनबमोजिम अधिकार प्रयोग गर्दा कर लगायत जनतासंग प्रत्यक्ष सम्बन्ध रहने विषयहरूमा सबै पालिकाले सकेसम्म समान धारणा बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले स्थानीय निकायबीच पनि आवश्यक समन्वय हुनुपर्ने बताए ।
कार्यालयमा भेटेर आफ्ना गुनासो सुनाउने जनताको अधिकार भएको उल्लेख गर्दै उनले सम्भव भएसम्म कार्यालय प्रमुखहरूले जनताका गुनासा सुन्नुपर्छ, जनताका लागि कार्यालय प्रमुखले सधैँ ढोका खुला राख्न निर्देशन दिए।
शान्ति सुरक्षाका कामलाई थप प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिँदै उनले सुरक्षा संवदेशनशीलताका आधारमा सम्भावित परिस्थितीको आंकलन गरी काम गर्न निर्देशन दिए ।