सुनसरी– सुनसरीका पाँच पालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको छ ।
एक युवकलाई कुटपिट गरेको विषयमा दुई समूहबीच झडप भएपछि प्रशासन कार्यालयले पाँच वटा पालिकामा कर्फ्यू आदेश जारी गरेको सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालले बताए ।
उनका अनुसार इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको हो ।
साथै स्थानीय प्रशासनले पूर्व पश्चिम राजमार्गमा पनि सतर्कता बढाएको छ । राजमार्गमा लामाे दूरीका सवारी साधनलाई निगरानीमा राखेर मात्रै आवतजावत गर्न दिइएको छ । हरिनगर गाउँपालिका-१ भुटाहामा बिहीबार एक युवकमाथि स्थानीयले कुटपिट गरेका थिए । कुटपिट भएको विषयमा आज दुई समूहबीच झडप भएको थियो ।
दुई समूहबीचको झडपले उग्ररूप लिएपछि अनिश्चितकालका लागि प्रशासनले पाँच पालिकामा कर्फ्यू आदेश जारी गरेको हो ।