काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दुई अंकको आर्थिक वृद्धिका लागि संरचनात्मक सुधार आवश्यक रहेको बताएका छन्।
उनले बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारण सभामा राजनीतिक स्थिरता हुने गरी संरचनागत सुधार नगरी अर्थतन्त्रले गति नलिने बताए।
‘नेपालमा अहिलेसम्म कुनै वर्ष पनि दोहोरो अंकको आर्थिक वृद्धि हुन सकेको छैन। यसका लागि राजनीतिक स्थिरता चाहिन्छ,’ उनले भने, ‘राजनीतिक स्थिरता र भिजनरी लिडरसिप नभइ आर्थिक विकास हुँदैन। राजनीतिक स्थिरताविना कुन देशले विकास गरेका छन्?’
उनले आर्थिक विकासका लागि कृषिमा आश्रित जनसंख्यालाई १० प्रतिशत भन्दा तल झारी उद्योग क्षेत्रमा लागेको श्रम शक्तिलाई ३०/३५ पुर्याउनुपर्नेमा जोड दिए। कृषि क्षेत्रमा आधुनिकीकरण गरी त्यसमा आश्रित जनसंख्यालाई १० प्रतिशतभन्दा तल झारौं। उद्योगको विकास गरी त्यसमा आश्रितको हिस्सा ३०/३५ र सेवा क्षेत्रमा ५०/५५ प्रतिशत पुर्याऔं।’
पूर्वप्रधानमन्त्री भट्टराईले यसका लागि स्थिर आर्थिक नीति चाहिने बताए। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गरी त्यसमातहत इकोनोमिक डेभलपमेन्ट अथोरिटी बनाएर काम गर्न सकिने उनको भनाइ छ।
उनले सम्पत्तिको स्वघोषणा गर्न लगाउनुपर्नेमा पनि जोड दिए। उद्योगी व्यवसायी लगायत सबैलाई सुरक्षाको सुनिश्चितता गराएर सम्पत्ति स्वघोषणा गर्न दिनुपर्ने उनको भनाइ छ।
‘डिजिटल युग आइसक्यो। एकचोटी हामी सबैले सम्पत्ति अभिलेखीकरण गरौं। बाबु बाजेका पालाका लिखत र कागज आफैंले बुझिंदैन। स्वघोषणा गरौं सबैले। सेतो कालो नभनौं। खुला सीमाना छ। कालो र सेतो कसरी छुट्याउने?,’ उनले भने, ‘एकले अर्काको रौं उखेल्ने काम नगरौं। ग्रे इकोनोमी हो हाम्रो। सम्पत्ति घोषणा गर्न दिऔं। पूरै सुरक्षा दिएर। अनि प्रगतिशील कर लगाऔं।’
पूर्वप्रधानमन्त्री भट्टराईले धन आर्जन र उद्यम गर्नु राम्रो हो भन्ने संस्कार सिकाउनुपर्नेमा जोड दिए। ‘हाम्रो मानसिकता र संस्कार उद्यममैत्री छैन। त्यसैले बदलौं। जोगी बनेर हिंडे स्वर्ग गएपछि सुख पाइन्छ भन्ने सिकाएर भएन,’ उनले भने।
उनले निजी क्षेत्र र सरकारबीच सहकार्यको आवश्यकता जोड दिए।