रौतहट– फतुवा बिजयपुर नगरपालिकाकी कार्यवाहक मेयर अम्बेया खातुनले कर्मचारीको बक्यौता तलब १५ दिनभित्र उपलब्ध गराउने फेरी प्रतिबद्धता जनाएकी छिन्। खातुनको प्रतिबद्धता पछि दुई साता अघि कर्मचारीले लगाएको ताला शुक्रवार दुई पक्षीय सहमति हुँदा खुल्ला गरिएको छ।
इलाका प्रहरी कार्यालय बिजयपुर लक्षमिनियाको प्राङ्गणमा शुक्रवार जनप्रतिनिधि र कर्मचारीको संयुक्त बैठकमा कार्यवाहक मेयर खातुनले १५ दिनभित्र सम्पूर्ण कर्मचारीको तलब निकासा गराउने प्रतिबद्धता जनाएपछि सहमति भएको थियो।
१५ दिनभित्र नगरभरिका सम्पूर्ण कर्मचारीको तलब निकासा गराउने कार्यवाहक मेयर खातुनले प्रतिबद्धता जनाए लगत्तै कर्मचारीले नगरपालिकाको साँचो मेयर महमद सेराजको जिम्मा लगाएका थिए। महमद सेराजले शुक्रवार साँझ कर्मचारी र प्रहरीको रोहवरमा नगरपालिकाको ताला खुला गरेको प्रहरीले जनाएको छ।
दुई पक्षीय बैठकमा मेयर अम्बेया खातुन, प्रमुख प्रशासकीय अधिकृत वकिल पाल, इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर विजय कार्की, नगर स्वास्थ्य संयोजक प्रमोद गुप्ता लगायतको सहभागिता रहेको थियो।
जनप्रतिनिधिबिच आपसी विवादको कारण आर्थिक वर्षको साउन देखि हालसम्म तलब पाउन नसकेका कर्मचारीहरूले दुई साता अघि नगरपालिकामा तालाबन्दी गरेर साँचो सिडिओ हिरालाल रेग्मीको हातमा बुझाएका थिए।
यस अघिका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको फतुवाबाट सरुवा भएसंगै नयाँ अधिकृत पाल र मेयर खातुन चार दिन अघि नगरपालिकाको साँचो सिडिओ रेग्मीको हातबाट बुझेका थिए। फतुवामा जनप्रतिनिधि बिच बजेटको भागबन्डा नमिलेको कारण सम्पूर्ण आर्थिक कारोबार बन्द भएर त्यहाँको शिक्षक कर्मचारी गरी ३५० जनाले साउन देखि हालसम्म तलब पाएका छैनन्।
तलबको माग गर्दै पटक पटक आन्दोलन गर्दै आएका शिक्षकहरूको तलब होली पर्व लगत्तै उपलब्ध गराउने प्रदेश सांसद तथा नेपाली कांग्रेस रौतहटका सभापति सुनिल कुमार यादव (जितेन्द्र) को पहलमा सहमति भएको थियो।
सहमति हालसम्म कार्यान्वयन भएको छैन। प्रशासकीय अधिकृत उपसचिव प्रधान र वडा अध्यक्षहरूको मिलेमतोमा वडाको विकासको सिलिङ बढाएको भन्दै मेयर खातुनले कोलेनिकामा सहमति नगर्दा शिक्षक कर्मचारीको तलब हालसम्म निकासा भएको छैन।
मेयर खातुनको पहलमा केही दिन अघि मात्र प्रशासकीय अधिकृत प्रधानको स्थानमा वकिल पाललाई ल्याइएको छ। उता फतुवा विजयपुरका वडाध्यक्षहरू आरोपको खण्डन गर्दै मेयर खातुनकै कारण नगरको अवस्था दयनीय भएको दाबी गर्दै आएका छन्।
कांग्रेसबाट निर्वाचित फतुवा विजयपुरको तत्कालीन मेयर गोपाल राय यादव लालबकैया नदीको टेन्डरमा अख्तियारद्वारा दोषी ठहर भएर गत वर्ष पद गुमाएपछि कांग्रेस कै निर्वाचित उपमेयर अम्बेया खातुन कार्यवाहीको जिम्मेवारी पाएकी थिइन्।