काठमाडौं- पूर्वप्रधानमन्त्री तथा सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुदूरपश्चिमको मुख्यमन्त्री पद सुरुमै आफ्नो पार्टीलाई दिन प्रधानमन्त्री प्रचण्ड सहमत भएको दाबी गरेका छन्।
आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि प्रतिक्रिया दिँदै खनालले उक्त दाबी गरेका हुन्।
‘प्रधानमन्त्रीजीसँग समसामयिक विषयमा कुराकानी भयो। अहिलेको गठबन्धनलाई थप बलियो बनाएर जाने भन्नेबारे समझदारी भएको छ। केही अप्ठेराहरू आउन लागेको भए पनि त्यसलाई फुकाएर सहज ढङ्गले अघि बढ्ने कुरा भएको छ’, उनले भने, ‘भेटमा सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको समस्याका बारेमा पनि कुराकानी भयो। प्रधानमन्त्रीजीले अहिले सुरुमा एकीकृत समाजवादीलाई नै मुख्यमन्त्री दिने प्रतिबद्धता जनाउनुभएको छ। सोही समझदारी पछि म बालुवाटारबाट फर्किएँ।’