काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् बैठकमार्फत गरेका विभिन्न निर्णयविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ।
यसअघि अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको थियो।
तर, अधिकारी सरकारले दीर्घकालीन असर पर्ने खालका नियुक्ति गर्नुका साथै मुद्दाको पेसी बाँकी रहँदै विश्वासको मतका लागि प्रदेश सभा आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेपछि कांग्रेस पुन: अदालतको ढोका ढक्ढक्याउन पुगेको हो।
निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको तर्फबाट निवर्तमान मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले पूरक निवेदन दर्ता गरेका छन्।
यसैबीच प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीबीच बुधबार बिहान बालुवाटारमा भेटवार्ता भएको छ।
गण्डकी मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो। एमाले नेता अधिकारी गएको चैत २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।