सिरहा– धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत र सशर्त शिक्षण अनुदानका शिक्षकहरूले ९ महिनादेखि तलब पाउन सकेका छैनन्। आन्तरिक स्रोतको कमी र कर्मचारी र जनप्रतिनिधिहरूको आन्तरिक समस्याका कारण करिब २० जना शिक्षकहरूले तलब भत्ता पाउन नसकेका हुन्।
नगरपालिका अन्तर्गत निजी स्रोतमा सञ्चालित माध्यमिक विद्यालय र आधारभूत विद्यालयका शिक्षकले करिब एक वर्षदेखि नगरपालिकाले तलब भत्ता नपठाएको प्रधानाध्यापकहरूको गुनासो छ। उनीहरूले करिब एक वर्षबाट सशर्त शिक्षण अनुदान र निजी स्रोतका शिक्षकको तलब नआएको गुनासो गरेका हुन्।
आधारभूत विद्यालय, धनगढीमाई १३ कैलाशपुर भर्लेनीका प्रधानाध्यापक अमरकुमार योञ्जनले आफ्ना विद्यालयमा कार्यरत दुई जना शिक्षकको तलब भत्ताबापत रकम एक वर्षदेखि विद्यालयको खातामा नआएको बताए। ‘उहाँहरूको तलब भत्ता एक वर्षदेखि आएको छैन,’ उनले भने, ‘हामीले विद्यालयको स्रोतबाट थोरै पेस्की दिएका छौँ।’
जनता आधारभूत विद्यालय, धनगढीमाई १ बाखैरका प्रधानाध्यापक विनोदकुमार साहले पनि निजी स्रोतका शिक्षकको तलवभत्ता नगरपालिकाले यस आर्थिक वर्षमा एक पटक पनि नपठाएको बताए। उनले भने, ‘सशर्त शिक्षण अनुदान र वडा कार्यालयको अनुदानका दुई जना शिक्षकको तलब पालिकाले निकासा दिएका छैन। हामीले शिक्षकहरूलाई विद्यालयको आन्तरिक कोषबाट तलब दिइरहेका छौँ। पालिकाले पनि अव चाँडै पठाउने भनेको छ।’
‘सशर्त शिक्षण अनुदान र निजी स्रोतका शिक्षकको तलब भत्ताबापतको रकम लामो समयदेखि गएको छैन,’ शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिनारायण सिंहले भने, ‘मैले निजी स्रोत र सशर्त शिक्षण अनुदानमा कार्यरत शिक्षकहरूको तलवभत्ताको सम्पूर्ण कागजात लेखा शाखामा बुझाई सकेको छु, केहिदिन अघिसम्म सो रकम गएको छैन भन्ने जानकारी छ। तर, हिजो आज गएको भए मलाई जानकारी भएन, म आज बिदामा छु।’
नगरक्षेत्रभित्र ७ जना कम्प्युटर शिक्षकसहित करिब २० जना निजी स्रोतमा कार्यरत शिक्षकलाई पछिल्लो नौ महिनादेखि नगरपालिकाले तलब भत्ता पठाएका छैनन्।
लेखा अधिकृत पुरुषोत्तम कुमार प्रसादले आन्तरिक स्रोतबाट तलब व्यवस्थापन गर्नुपर्ने शिक्षकहरूको तलब सुविधा नगएकाे बताए । ‘भर्खरै बजेट संशोधन गरिएको छ’, उनले भने ‘अव कार्यालय प्रमुख आउने दिनै पाउनु पर्ने सबै विद्यालयमा रकम जान्छ।’
‘पहिला स्रोत व्यवस्थापन हुन सकिरहेको थिएन, स्रोत व्यवस्थापन भइसकेपछि कार्यालय प्रमुख सरुवा भएर जाने र आउने प्रक्रिया हुन थालेकाले ढिलो भएको हो अव चाँडै जानुपर्ने सबैको सेवा सुविधा जान्छ।’ लेखा अधिकृत प्रसादले भने, ‘अहिले म पनि बिदामा छु, हाकिम सा’व पनि बिदामा भएकाले कार्यालय प्रमुख आएकै दिन रकम जान्छ।’
प्रमुख प्रशासकीय अधिकृतसंग सम्पर्क गरे पनि उनी बिदामा रहेकाले सम्पर्क हुन सकेन।
नगर प्रमुख शिवशङ्कर महतोले सबै शिक्षक कर्मचारीको तलब चैत मसान्तसम्मको गई सकेको दावी गरे । ‘निजी स्रोतका शिक्षकको दसैँसम्मको तलब गएको छ। नगएको भए तत्काल पठाउन लाउँछु ।’
नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिहरूको लापरबाहीले करारका कर्मचारी तथा सेवाग्राही पनि सास्ती खेप्नु परेको छ ।