रौतहट- चन्द्रपुर नगरपालिका-१ का स्थानीय बासिन्दा यतिबेला ३० रुपैयाँको बिजुलीको बिल तिर्न २०० रुपैयाँ खर्च गर्न बाध्य भएका छन् ।
वडा कार्यालयमा रहेको खानेपानी तथा बिजुलीको बिल तिर्ने यी सेवाको काउन्टर वडा कार्यालयले बन्द गरेपछि सर्वसाधारणहरू यतिबेला मारमा परेका छन् । इ सेवा काउन्टरमा कार्यरत कर्मचारीलाई वअहखडा कार्यालयले हटाएपछि सो काउन्टर बन्द भएको हो ।
गत वैशाख ३ गते खानेपानी तथा बिजुलीको महसुल तिर्ने काउन्टरमा कार्यरत सजना राईको काम सन्तोषजनक नभएको भन्दै वडाध्यक्षले काममा नआउने गरी हटाएपछि काउन्टर बन्द भयाे ।
वडा कार्यालयले काउन्टरबाट राईलाई हटाएर अर्को मान्छे नियुक्त नगरेका कारण चन्द्रपुरका वडा नम्बर १ का स्थानीयले बिजुलीको बिल तिर्नका लागि चन्द्रनिगापुर आउनुपर्ने बाध्यता आइपरेको स्थानीय लक्ष्मण न्यौपाने बताउँछन ।
३० रुपैयाँको बिजुलीको बिल तिर्नका लागि अहिले पौराईबासीले २ सय अटोमा खर्च गरेर चन्द्रनिगापुरमा रहेकाे विद्युत् प्राधिकरण कार्यालयमा पुग्नुपर्ने बाध्यता रहेकाे बताए ।
वडाको इ सेवा काउन्टरमा कार्यरत रहेकी राईलाई ४ गते वडा कार्यालयले काम सन्तोषजनक नरहेको भन्दै हटाएपछि अहिले इ सेवा काउन्टर बन्द भएको छ ।
काउन्टरबाट स्थानीयले खानेपानीको महसुल र बिजुलीको महसुल तिर्दै आएका थिए ।
चन्द्रपुर-१, का वडाध्यक्ष बलराम राउतसंग यस बिषयमा कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन । चन्द्रपुरकाे वडा १ मा कामको पछिल्लो समय तीव्र रूपमा आलोचना हुँदै आएको छ ।