काठमाडाैं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्षको सुरुवातदेखि नै स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने गरी काम गरिरहेको जनाएको छ ।
संघीय सरकारको अकर्मण्यता र स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको व्यवहारका कारण २ सय भन्दा बढी स्थानीय सरकार निमित्त प्रशासकीय प्रमुखको भरमा छन् ।
मन्त्रालयको जिम्मेवारी भानुभक्त जोशीले सम्हाल्नु अघि मुलुकभरका साढे दुई सय अर्थात् झन्डै २५ प्रतिशत स्थानीय तह निमित्तकै भरमा चलिरहेका थिए । हालै मात्र बढुवा पछि पदस्थापन भएका १० उपसचिव र २९ अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पालिकामा खटाइएको छ ।
मन्त्रालयको अनुसार, अझैँ २०७ स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत कार्यरत रहेका छन् । यसका अलवा जगेडामा रहेका केही कर्मचारीहरूलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ ।
आगामी आर्थिक वर्षको सुरुवातसम्ममै देशभरकै पालिकामा निमित्त हाकिम नरहने गरी काम भइरहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आगामी साउनदेखि स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने गरी काम भइरहेको छ ।
अबको लटमा बढुवा भएर शाखा अधिकृत र उपसचिवलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइने छ सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूको भनाई छ । केही समय पछि नै ३४ जना उपसचिव र बढुवाबाट ५० जना शाखा अधिकृत आउँदै गरेकाले तिनलाई पनि स्थानीय तहमा पठाउने मन्त्रालयले नीति लिएको छ ।
लामो समयसम्म सुगम वा दुर्गम एउटै कार्यालयमा बसेका कर्मचारीलाई सरुवा गरी मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउने भएकाले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय नहुने गरी मन्त्रालयले गृहकार्य गरिरहेको छ ।
मन्त्री जोशीले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको खटन पटन गर्ने सम्बन्धमा कार्यविधि नै बनाएर काम गर्न खोजिरहेका छन् ।
संघ सरकारले पठाएका कतिपय प्रमुख प्रशासकीय अधिकृतहरुलाई हाजिरै हुन नदिने, बाटैबाट फर्काउने र निमित्तकै भरमा खेलोमेला चलाउने खेल कतिपय स्थानीय तहमा देखिएको छ ।
जनप्रतिनिधि आफैँले रोजेर निमित्त हाकिम राख्ने र तिनकै आडमा बेरुजु बढेको, विकास निर्माणका काममा ढिलासुस्ती भएको, सेवा प्रवाह र सुशासन कमजोर बनेको लगायतका अनियमितता बढ्दै गएपछि त्यसलाई रोक्नका लागि मन्त्रालयले आगामी आर्थिक वर्षदेखि निमित्तको खेलोमेलो रोक्न लागेको हो ।
स्थानीय सरकार सञ्चालन ऐनले गाउँपालिकामा शाखा अधिकृत र नगरपालिकामा उपसचिवलाई संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत बनाई पठाउनुपर्ने व्यवस्था गरेको छ । अधिकांश गाउँपालिका र नगरपालिकामा मात्र निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेको मन्त्रालयले जनाएको छ ।
गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थानीय तहमा विकास निर्माण धमाधम चलिरहेकाले कतिपय स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा कामै नगर्ने प्रवृत्तिले स्थानीय तहको काममा प्रत्यक्ष असर परेको बताइन् ।