काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल सूचना प्रविधि विकासका लागि उपयुक्त मुलुक भएको भन्दै लगानी भित्र्याउन लगानीकर्ताहरुलाई आह्वान गरेकी छन्।
एशिया प्रशान्त क्षेत्रका १७ राष्ट्रका सूचना प्रविधि उद्योग सञ्चालकहरुको संस्था एशिया प्यासिफिक आइसिटी अलाइन्स (एपिक्टा)का पदाधिकारीहरुसंग आइतबार भएको अन्तर्क्रियालाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो आह्वान गरेकी हुन्।
‘आगामी वैशाख १६ र १७ गते काठमाडौंमा सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्दैछ। यो लगानी सम्मेलनमा विदेशी लगानीका साथै नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि संगसंगै लैजाने गरी तयार अगाडि बढाइएको छ। त्यसका लागि आवश्यक कानुनी र संरचनात्मक सुधारहरु समेत भइरहेका छन्,’ मन्त्री शर्माले भनिन्, ‘लगानी सम्मेलनको पूर्वसन्ध्यामा आज हामीबीच उपस्थित एसिया प्रशान्त क्षेत्रका विभिन्न १७ राष्ट्रका सूचना प्रविधि उद्योगका प्रतिनिधिहरुलाई सूचना प्रविधिको क्षेत्रमा बिना हिच्किचाहट लगानी भित्र्याउन र आफ्नो संघसंस्था मार्फत आवश्यक पहल गर्न अनुरोध गर्दछु।’
यसका लागि नेपाल सरकार आवश्यक सहजीकरण गर्न तथा विश्वासको वातावरण निर्माण गर्न तयार रहेको उनले बताइन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल फ्रेमवोर्कलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ यसको समसामयिक परिमार्जनको कार्य अगाडि बढाएको जानकारी दिंदै उनले डिजिटल फाउन्डेसनका डिजिटल सार्वजनिक पूर्वाधारहरुलाई सुरक्षित र अन्तर्क्रियात्मक बनाउँदै समग्र प्रणालीप्रतिको विश्वासलाई वृद्धि गरी सुशासन र विकासमा टेवा पुर्याउने सरकारको लक्ष्य रहेको जानकारी गराइन्।
उनले विश्व अर्थतन्त्र नै शिथिल भएको अवस्थामा सञ्चार तथा सूचना प्रविधिको प्रयोग गर्दै सूचना प्रविधिमैत्री संरचना र सोही बमोजिम दक्ष जनशक्ति व्यवस्थापन गर्न सके सुशासन र आर्थिक समृद्धि हासिल गर्न सकिने सरकारको बुझाइ रहेको बताइन्।
प्रत्येक वर्ष १० हजारभन्दा बढी नेपाली युवा सूचना प्रविधिको क्षेत्रमा थप भइरहेको उल्लेख गर्दै उनले युवा पलायन रोक्न देशभित्रै रोजगारी सिर्जना गर्ने र बिना अवरोध स्वतन्त्र रूपमा सफ्टवेयर निर्यात गर्नसक्ने भएकाले सरकारले आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गरिन्।