काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट एवं वामपन्थी शक्तिबीचको साझा सङ्कल्प, सहकार्य र एकताले मात्रै देशमा विद्यमान चुनौतीहरुको सामना गर्न सकिने बताएका छन्।
लेनिनको १५४ औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा सोमबार बिहान शुभकामना सन्देश जारी गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कम्युनिष्ट एवं वापन्थी शक्तिबीचको एकतामा जोड दिएका हुन्।
‘विचारधारात्मक सङ्घर्ष एवं एकता र विभाजनका अनेकौँ अनुभवसहित यतिबेला हामी वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेका छौँ,’ प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ, ‘यसले हामीलाई एकातर्फ बदलिएको राजनीतिक प्रणालीअनुरूप जनताको जीवनमा परिवर्तन ल्याउँदै समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गर्नेछ भने अर्कोतर्फ सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र सङ्कल्पलाई सार्थक तुल्याउनेछ।’
उनले विगतका अनुभवहरूको समीक्षा र संश्लेषणसहित वामपन्थी शक्तिहरूबीच वैचारिक र राजनीतिक प्रश्नमा गहन छलफलका साथ साझा निष्कर्षमा पुग्न जरुरी रहेकोमा पनि जोड दिएका छन्।