सिरहा- गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठले निजी लगानीमै सुविधा सम्पन्न अस्पताल खुलेको प्रति खुसी व्यक्त गरेका छन् ।
गोलबजार-४ काे बर्धमान हस्पिटलको उद्घाटन समारोमा मेयरले विशेषज्ञ सेवा दिन नसके पनि निजी क्षेत्रबाट यो सेवा प्रदान गरेकोमा खुसी व्यक्त गरे ।
उनले भने, ‘हामीले यहाँको जनताको लागि विशेषज्ञ सेवा प्रदान गर्न सकिरहेका छैनौँ,। निजी क्षेत्रबाटै भए पनि यो गोलबजारको लागी राम्रो सुरुवात भएको छ।’ लगानीको हिसाबले यो एउटा व्यवसायी भए पनि सेवामुखी हुनुपर्नेमा नगर प्रमुख श्रेष्ठले जोड दिए।
मिर्चैया नगरपालिकाका मेयर श्रवन कुमार यादवले स्वास्थ्यको क्षेत्रमा गोलबजारले अझै काम गर्नुपर्ने अवस्था रहेको बताए।
मेयर यादवले तुलनात्मक रूपमा गोलबजारमा अझै प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको बताए। उनले कतिपय अवस्थामा दुर्घटना र आकस्मिक अवस्थामा उपचार गर्ने उचित थलो नभएकाले कतिपयको मृत्युसम्म भएकाले प्रभावकारी विशेषज्ञ सेवाको आवश्यकता रहेको बताए ।
मिर्चैया नगरपालिकाले योजना बनाएरै स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको र केही प्रगतिहरू समेत भएको भन्दै यो अस्पतालको सफलताको कामना समेत गरे । अस्पतालका सञ्चालिका डाक्टर सारीका गोईतले उच्च प्रविधियुक्त ल्याब सेवा, एस-रे सेवा, बाल रोग विशेषज्ञ सेवासहितका विभिन्न विशेषज्ञ सेवाहरू प्रदान गरिने जानकारी दिइन् ।
‘गोलबजार नगरपालिकामा अझै पनि विशेषज्ञ सेवाको प्रबन्ध नरहेकाले हामी यहाँ आएको बताए। हामी एक अर्काको परिपूरक भएर काम गर्न सके राम्रो परिणाम आउनेमा डाक्टर गोइतले जोड दिए,’ उनले भने, ‘हामी यहाँ बसेर नगरलाई र नगरले हामीलाई सहयोग गरेको खण्डमा यहाँका जनताले धेरै लाभ लिन सक्ने छ।’