काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ ।
शीतल निवासको गण्डकी हलमा भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलगायत विशिष्ट पदाधिकारीहरू संलग्न रहेका थिए ।
उनीहरूबिच द्विपक्षीय हित र चासोसहित कूटनीतिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।
कतारका अमिर थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै शीतल निवास पुगेका थिए । यसअघि, विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विशिष्ट पदाधिकारीहरूले अमिर अल थानीलाई स्वागत गरेका थिए ।
कतारका अमिरले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनिकरण सम्बन्धी सम्झौताहरुको सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सबैका लागि सुखद वातावरण तयार हुने बताए।
कतारका अमिरले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने विश्वास व्यक्त गरे। अमिरले कतारको विकासमा नेपालीहरुको ठूलो योगदान रहेकोमा त्यसको प्रशंसा गर्दै आभार प्रकट गरेका थिए। उनले दुई देशबीच बुधबार हुने समझदारी तथा सम्झौता नेपालमा रहेका जलस्रोत, कृषि, पर्यटनजस्ता क्षेत्रहरुमा लगानीको नयाँ सम्भावनाहरु बढाउन सकिने विश्वास व्यक्त गरे।
त्यस्तै नेपाल र कतारबीच सदैव सुमधुर सम्बन्ध रहिआएको बताउँदै राष्ट्रपति पौडेलले हाम्रा सम्बन्ध मित्रता, आपसी सम्मान, विश्वास र सद्भावमा आधारित रहेको स्पष्ट गरेका थिए।
दुई मुलुकबीच नियमितरूपमा उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान हुने परम्परा रहिआएको र यसबाट द्विपक्षीय सम्बन्धको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक भ्रमणले नेपाल र कतारको सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको बताएका थिए।
अमिर थानीको सम्मानमा राष्ट्रपति पौडेलले आजै रात्रि भोजको आयोजना गर्ने कार्यक्रम छ ।