काठमाडौं– १७ जना विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १९ जना कर्मचारीको सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार ६ जना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सात जना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र दुई जना जिल्ला समन्वय समितिमा कार्यरत शाखा अधिकृत हेरफेर गरेको हो ।
जसमध्ये आठ जना उपसचिव सरहका कर्मचारी रहेका छन् भने ११ जना शाखा अधिकृत सरहका कर्मचारी रहेका छन् ।
मन्त्रालयले बुढानीलकण्ठ, गोदावरी, तारकेश्वरसहितका प्रमुख प्रशासकीय अधिकृतहरू परिवर्तन गरेको छ । यस्तै गोकर्णश्वर नगरपालिका, मण्डन देउपुर नगरपालिका, काभ्रेपलान्चोक, मुसिकोट नगरपालिका, गुल्मी, पुनर्वास नगरपालिका, कञ्चनपुरका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको हो ।
सरुवाको सूची अनुसार, राष्ट्रिय महिला आयोगका उपसचिव भूपेन्द्र पाण्डेयलाई बुढानीलकण्ठको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ भने त्यहाँ कार्यरत तुलसीराम अर्याललाई राष्ट्रिय महिला आयोगमा खटाइएको छ ।
यस्तै, गोदावरीका अच्युत राज रेग्मीलाई संघीय मामिला तथा सामान्य प्रशासन अतिरिक्त समूहमा तानेर त्यहाँ मानबहादुर खड्कालाई मण्डन देउपुर नगरपालिकाकाबाट तानेर पठाइएको छ ।
यस्तै मुसिकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरको तारकेश्वर नगरपालिका, तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपसचिवका रूपमा सरुवा भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव याम नारायण गौलीको गोकर्णेश्वरका, काठमाडौंको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएको छ ।
पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीको जिल्ला समन्वय समितिको कार्यालय बैतडीमा सरुवा भएको छ । उनलाई पाटन नगरपालिकाको थप जिम्मेवारी समेत दिइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालय ११ शाखा अधिकृतहरूको सरुवा गरेको छ । सरुवाको सूची अनुसार ४ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने ४ अधिकृत सिंहदरबारस्थित गृह, सञ्चार र भूमि व्यवस्था मन्त्रालयमा तानिएका छन् । यस्तै बाँकी २ लाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र १ जनालाई जिससतिर पठाइएको छ ।
मन्त्रालयले बाँकेको डुडुवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीलाई राप्तीसोनारी गाउँपालिकामा खटाएको छ । यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशमा कार्यरत तेजिन्द्र गौतमलाई बर्जु गाउँपालिकामा खटाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत प्रशन्नदीप राईलाई थुलुङ दुधकोशी गाउँपालिका सोलुखुम्बुको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशमा कार्यरत शाखा अधिकृत विनोद कुमार भण्डारीलाई जहदा गाउँपालिका मोरङको प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाएको छ ।
सरुवाको सूची अनुसार, बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलदेव यादवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशमा पठाएको छ ।
बैजनाथ गाउँपालिका बाँकेका प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादवलाई गृह मन्त्रालयमा तानिएको छ भने बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, पचरौता नगरपालिका बाराका प्रमुख प्रशासकीय अधिकृत गौरीशङ्कर कुमार सिंहलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएको छ ।
जिल्ला समन्वय समिति प्युठानमा कार्यरत हरि प्रसाद पौडेललाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमै ल्याइएको छ भने जिल्ला समन्वय समिति सुर्खेतमा कार्यरत मेघनाथ सापकोटालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली पुगेका छन् ।
तिला गाउँपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढा थापालाई जिल्ला समन्वय समिति जुम्ला पुगेका छन् ।