काठमाडौं– बागमती प्रदेशले यही वैशाख २४ गते बागमती प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । प्रदेश सरकारले बिहीबार बसेको बैठकको निर्णय अनुसार प्रदेश सरकारले कामकाजी भाषा ऐन २०८० कार्यान्वयन यही वैशाख २४ गते सोमबारदेखि गर्ने भएकोले सो दिन बिदा दिने निर्णय गरेको हो ।
यसै गरी उक्त निर्णयको कार्यान्वयन गर्ने दिन बागमती प्रदेशले दिवसको रूपमा मनाउने निर्णय सँगै यस खुसीयालीमा वसन्तपुरमा ‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा समारोह’ को आयोजना गर्ने तयारी रहेको छ ।
बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यको संयोजकत्वमा ‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा मूल समारोह समिति’ गठन गरी वसन्तपुर डबलीमा घोषणा समारोह कार्यक्रम सम्पन्न गर्न लागेको छ ।
मूल आयोजक समारोह समिति, सचिवालय लगायत विभिन्न समिति, उपसमिति गठन गरेर कार्यसम्पादन गर्ने तयारी गरी रहेकोले सोही अनुसार अघि बढी रहेको समेत अध्यक्ष पवित्र बज्राचार्यले बताए ।
नेवा: देय् दवुका स्वनिगः विशेष प्रदेशका उपाध्यक्ष उमेश स्थापितले कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न नेवा: देय् दवु र नेपाल तामाङ घेदुङसंघका केन्द्रीय सदस्यहरू, विभिन्न खलपुचः जातीपुचः र संघ–संस्थाको प्रतिनिधीहरुबाट मूल आयोजक समारोह समिति बनाउने र उक्त समिति भित्रबाट सचिवालय बनाउने यसपछि सचिवालयका सदस्यहरूको संयोजकत्वमा विभिन्न समिति उपसमितिहरू गठन गर्ने तयारी रहेको बताए ।
ऐतिहासिक ‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा कार्यक्रम’ को महत्त्व विशेष हुने भएकोले आ–आफ्नो ठाउँबाट व्यापक प्रचार प्रसार सहभागी हुन उपाध्यक्ष स्थापितले आग्रह गरे ।