काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, उपाध्यक्ष महजवी खातुनसहित ६ जनाविररूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
अख्तियारले सो पालिकाका इन्जिनियर सुभाष पाण्डेयसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
महोत्तरीको एकडरा गाउँपालिका– १ अन्तरगतका सडक ढलान गर्ने क्रममा विनियोजन भएको रकमबाट गुणस्तरहीन कार्य गरी रकम हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिंह, इन्जिनियर पाण्डेय, योजना शाखा प्रमुख महेन्द्र कुमार मण्डल, असिस्टेन्ट सवइन्जिनियर सञ्जय कुमार मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
गाउँपालिका उपाध्यक्ष खातुन र जानकी कन्सट्रक्सन मरा शिसवा नगरपालिका–५ महोत्तरीका प्रोपराइटर राकेश कुमार रायविरुद्ध पनि मुद्दा दायर भएको छ ।
उनीहरुले आयोजना सम्पन्न गर्नेक्रममा ८ लाख ६५ हजार १४५ रुपैयाँभ्रष्टाचार गरेको भन्दै सो रकम बराबरको जरिमाना र बिगो दावी गर्दै मुद्दा दायर गरेको हो ।
सडक ढलान योजनाको खरिद प्रक्रियामा तयार गरिएको गुणस्तर सम्बन्धी मापदण्ड अनुसार नभएको, गुणस्तर नै चेकजाँच नगरी सम्झौता बमोजिमको कार्य सम्पन्न भएको भनी गलत नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।
अख्तियारले पालिकासंग सम्झौता गरेर गुणस्तरीय काम नगर्ने मनरासिस्वाको निर्माण कम्पनी जानकी कन्स्ट्रक्सनका सञ्चालक राकेश कुमार रायलाई पनि दोषी ठहर गरेको छ ।
पालिकासंग सम्झौता गरेर गुणस्तरहीन काम गर्दा पनि फर्जी प्रतिवेदन बनाइ भुक्तानी लिएको ठहर गर्दै उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम सजाय र बिगो समेत जफतको माग गर्दै राय विरुद्ध आरोप-पत्र दायर गरेको हो ।