गाेरखा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख निलकण्ठ पोखरेलबिरुद्ध आरोप पत्र दायर गरेको छ । अख्तियारले गत चैत्र २७ गते बिशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेकाे हाे ।
कृषि बिकास निर्देशनालय गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख भएका बेला स्याङ्जाको गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाले भवन निर्माणका लागि कृषि निर्देशनालयबाट अनुदान स्वरुप विनियोजित बजेट हिनामिना गरेको आरोप पोखरेलमाथि छ ।
अख्तियारका प्रवक्त नरहरि घिमिरेका अनुसार अनुदानको २८ लाख ३७ हजार २१७ रुपियाँ भुक्तानी गरेर सम्झौताविपरीतका कार्यहरू गरेको र सरकारी सम्पत्ति हानिनोक्सानी हुने गरी कार्य गरेको देखिँदा जनही सोही रकम बिगो कायम गरेर विशेष अदालतमा आरोप–पत्र दायर गरिएको बताए।
कृषि विकास निर्देशनालयका तत्कालीन निमित्त कार्यालय प्रमुख पोखरेल, कृषि विकास निर्देशनालयका कृषि इन्जिनियर विश्वनाथ पौडेल र तत्कालीन कृषि अर्थविज्ञ (शाखा प्रमुख) भानुभक्त भट्टराई, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपाने तिमिल्सिना, सचिव परसुराम खनाल, कोषाध्यक्ष उमा श्रेष्ठ साथै गल्याङ् नगरपालिका वडा नं. ३ बस्ने श्रीप्रसाद श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।