कपिलवस्तु- महाराजगञ्ज नगरपालिका वडा नं. २ का वडाअध्यक्ष उजेर अली विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
वडाअध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
सो सम्बन्धी सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले अलीलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित मिति २०८० चैत १८ गते नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा वडाअध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको अख्तियारको ठहर छ।
अलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुरमा बिगो १५ हजार रुपैयाँ कायम गरी सोही ऐनको दफा १ को उपदफा (१) खण्ड (क) बमोजिम कैद सजाय र बिगो बमोजिम जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ।