काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकले बक्यौता नबुझाएसम्म विदेशी मुद्रा सटही सिफारिस नगर्ने अडान दोहोर्याएको छ। केही इन्टरनेट सेवा प्रदायकले विभिन्न बहानामा कर भुक्तानी नगरेका कारण बिहीबार दिउँसोदेखि सेवा अवरुद्ध बनेको थियो।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणका निर्देशक तथा प्रवक्ता सन्तोष पौडेलले बक्यौता रकम नतिरेकै कारण ती सेवा प्रदायकहरुलाई कानूनअनुसार दूरसञ्चार उपकरण आयात तथा विदेशी मुद्रा सटही सिफारिस गर्न नसकिएको बताएका छन्।
इन्टरनेटमा अवरोध भएको थाहा पाउने वित्तिकै प्राधिकरणबाट गरिएको अनुगमन तथा निरीक्षणबाट केही सेवा प्रदायकको सेवा अवरुद्ध भएको पुष्टि भएको भन्दै उनले तत्काल प्राधिकरणबाट लिइएको पहलकदमी र सरोकारवालाहरुबाट भएको सहयोग तथा समन्वयले केही समयभित्रै इन्टरनेट सेवा सुचारु गरिएको स्पष्ट पारेका छन्।
ब्यान्डविथ खरिदबापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नगरेको भन्दै भ्रम सृजना गरिएको प्राधिकरणको प्रतिक्रिया छ।
‘सेवा प्रदायकहरुले सेवा प्रदान गरेबापत दूरसञ्चार ऐन, २०५३ को दफा ३२ र दूरसञ्चार नियमावली, २०५४ को नियम २६ बमोजिम कुल वार्षिक आम्दानीमा चार प्रतिशत रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष विनियमावली, २०६८ को विनियम ५ (१) बमोजिम दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष रकम बुझाउनुपर्ने व्यवस्था छ,’ विज्ञप्तीमा उल्लेख छ।
प्राधिकरणले धेरैजसो सेवा प्रदायकहरुले नियमानुसार तिर्नु बुझाउनुपर्ने रकम भुक्तान गरेकाहरुलाई निर्वाध रुपमा प्राधिकरणबाट विदेशी मुद्रा सिफारिस लगायत सुविधा दिइरहेको जनाएको छ।
‘तर, सीमित सेवा प्रदायकहरुले वर्षौंदेखि बक्यौता भुक्तानीको लागि स्पष्ट गरी बारम्बार ताकेता गर्दा समेत नियमानुसार बुझाउनुपर्ने बाँकी बक्यौता रकम विभिन्न बहाना गरी हालसम्म भुक्तानी गरेका छैनन्,’ विज्ञप्तीमा भनिएको छ।
प्राधिकरणले दूरसञ्चार उपकरण आयात तथा विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी (कार्यविधि) विनियमावली २०७६ को ४ (घ) बमोजिम विदेशी मुद्रा सिफारिस गर्न नमिल्ने प्राधिकरणले स्पष्ट पारेको छ। उक्त विषय सर्वोच्च अदालतमा समेत विचाराधीन रहेको अवस्थामा दूरसञ्चार जस्तो अत्यावश्यक सेवा गैरजिम्मेवारीपूर्वक अवरुद्ध हुनुलाई स्वाभाविक रुपमा लिन नसकिने प्राधिकरणले जनाएको छ।
इन्टरनेट सेवा अत्यावश्यक सेवा समेत भएको प्राधिकरणले सेवामा कुनै अवरोध हुन नदिन सचेत गराएको छ। अन्यथा कारवाही गर्ने चेतावनी प्राधिकरणले दिएको छ।
बिहीबार दिउँसोदेखि अवरुद्ध भएको इन्टरनेट मध्यरातदेखि संचालनमा आएको छ। भारतीय कम्पनीले बिहीबार नेपालतर्फको ब्यान्डविथ काटिदिएका थिए जसकारण देशभर इन्टरनेट प्रभावित भएको थियो।