बारा- राष्ट्रिय परिचयपत्रको लागि फारम भर्न सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि बाराको इलाका प्रशासन कार्यालय सिमराले अधिक जनसङ्ख्या रहेको निजगढ नगरपालिकाको आग्रहमा एक मात्र स्टेशनबाट सम्पादन गर्न कठिन भएको भन्दै गत चैतमा थप एक स्टेशन थपेको थियो । तर राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरबारको परिपत्रपछि जिल्ला प्रशासन कार्यालय बाराले स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको कार्य जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय मार्फत मात्र हुने भन्दै दर्ता अपरेटर सहित सम्पूर्ण सामाग्री फिर्ता लगेको छ ।
जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयसम्म पुग्न स्थानीयलाई सास्ती हुने तथा राष्ट्रिय परिचयपत्र बनाउन टाढा जानुपर्ने, भिडभाडका कारण निकै समय तथा दिनसम्म लाग्नेभन्दै उक्त स्टेशनमा कार्यरत जनशक्तिको पारिश्रमिक लगायतको आवश्यक खर्च नगरपालिकाको कार्यालयले भुक्तानी गर्ने भन्दै निजगढ नगरपालिकाको नगरकार्यपालिकाको बैठकले गत चैत ७ गते निर्णय गर्दै यस पालिकामा भएको राष्ट्रिय परिचयपत्रको सेवा फिता नलिन सम्बन्धित निकायलाई पटक पटक पत्राचार गरेको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले भने,‘सेवाग्राहीलाई सहज हुने हिसाबले स्थानीय तहमा आएको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनबाट यस पालिकामा करिब ६० प्रतिशत नागरिकहरूको राष्ट्रिय परिचयपत्र बनाउन बाँकी रहेको हुँदा सेवा निरन्तर गर्न पालिकाले समन्वय गरेको भएपनि कुनै जवाफ नआएको हुँदा आजबाट राष्ट्रिय परिचयपत्र बनाउने काम जिल्ला र इलाका प्रशासनबाट भएको बताए ।’
सम्पूर्ण सामाग्री र अपरेटर फिर्ता भएपछि बिहीबारबाट बाराको निजगढ नगरपालिकाबाट भइरहेको विवरण सङ्कलन गर्न अब जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयसम्म पुग्न स्थानीय बाध्य भएका छन् ।
सेवाग्राहीको भीडलाई मध्यनजर राखी जिल्ला प्रशासन कार्यालयले पालिकामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट निजगढमा नगरपालिकामा केन्द्र खडा गरी राष्ट्रिय परिचयपत्र सम्बन्धित पालिकाबाट नै बनाउने कार्य राम्रो थियो, निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले भने भिडभाड रहित रूपमा सेवाग्राहीले सहज रूपमा पाएको सेवा पुनः फिर्ता लगेर जनतालाई दुःख दिने काम भएकाले निजगढ नगरपालिकाले पञ्जीकरण विभागसँग समन्वय भइरहेको बताए ।
नगरप्रमुख पुरीले भने,‘निजगढ नगरपालिकाको भौगोलिक बनावटका कारण सर्वसाधारण निजगढ नगरपालिकामै सहज रूपले आउन सक्ने अवस्था छैन । निम्न आय भएका तथा ज्येष्ठ नागरिकहरूको परिचयपत्र बनाउन वडा वडा सम्म पुर्याउने तयारी गरिरहेको बेलामा फिर्ता लगिएको छ । हामी सेवा पुनः सञ्चालन गराउन पहल गरिरहेका छै ।’
वडा वडामा पुग्नुपर्ने सेवा पुनः प्रशासन कार्यालयमै
यसअघि स्थानीय तहसँग समन्वय गरी सबैलाई पायक पर्ने स्थानमा केन्द्र स्थापना गरेर कम्प्युटरलगायत उपकरणसहित तत्काललाई कर्मचारी खटाइएको थियो जसले गर्दा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय हुँदै आएको भिड र परिचय पत्र बनाउनका निम्ति नागरिकलाई हुँदै आएको सास्तीमा समेत कम भएको थियो तर पुनः यो सेवा प्रशासनमै पुगे पछि स्थानीयले समेत आलोचना गरेका छन् ।
निजगढ नगरपालिका ३ की विमला राई बिहीबार २२ वर्षीय छोराको पासपोर्ट बनाउन निजगढ नगरपालिकाको कार्यालयमा आएकी थिइन तर सो सेवा नगरपालिकामा नभएपछि उनी सिमरा स्थित इलाका प्रशासन कार्यालयमा पुगिन तर त्यहाँबाट भिड भएका कारण उनको छोराको परिचयपत्र बनेन तर उनलाई आइतबार बिहान १० बजे आउन भन्दै फिर्ता पठाएको राईले बताइन । उनले भनिन,‘पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ तर सरकारबाट प्राप्त हुने सेवा पालिकाबाट फिर्ता गरेर उल्टै नागरिकलाई दुःख दिने काय भएको छ । सेवा वडा सम्म आउनुपरेमा पालिकाबाटै फिर्ता लगिनु राम्रो होइन ।’
बारा जिल्लाका १६ वटै स्थानीय तहबाट भइरहेको राष्ट्रिय परिचयपत्र आवश्यक विवरण सङ्कलन कार्य आजबाट जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मात्र हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरबारले गरेको परिपत्र अनुसार नै जिल्लाको १६ वटै स्थानीय तहबाट विवरण सङ्कलन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए ।
यता राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक (राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखा) का मुकेश कुमार केशरीले मधेश प्रदेशका प्रत्येक पालिकाबाट दैनिक ४० वटा परिचयपत्रको विवरण भरिने लक्ष्य बमोजिम स्थानीय तहबाट विवरण सङ्कलन थालिएको भएपनि यस प्रदेशबाट १८ महिना सम्मको डाटालाई हेर्दा लक्ष्य बमोजिम पुरा नभएका कारण फिर्ता ल्याइएको जानकारी दिए ।
निर्देशक केशरीले भने,‘विवरण सङ्कलन गर्न धेरै बाँकी रहेका स्थानीय तहसँग सम्झौता गरेर पुनः सञ्चालन गर्न सकिने तथा ४० दिन सम्म वडा वडामा पुगेर विवरण सङ्कलन गर्न सकिन्छ अहिले पालिकामा भएका कर्मचारीलाई फिर्ता बेलाएको अर्को कारण भनेको बनेका परिचय पत्र बाँड्न समेत हो । कुनै पालिकाहरूबाट माग हुने बित्तिकै हामी पुनः विवरण सङ्कलन गर्न पठाउँछौँ।’