काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापतिसहित शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापालगायतका नेताहरु सहभागी रहेका छन् ।
प्रधानमन्त्रीले संसद्को गतिरोध अन्त्यका लागि कांग्रेससँग छलफल शुरु गरेका हुन् । सरकारले कांग्रेसलाई समग्र समस्याग्रस्त सहकारी छानबिन गर्न आयोग गठन गर्ने र दोषी देखिएका सबैलाई कारबाही गर्ने प्रस्ताव गरेको बुझिएको छ ।
कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने अडान राख्दै आएको छ । शु्क्रबार सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संघीय संसदका दुवै सदन अवरुद्ध गरेको थियो ।
कांग्रेसले आगामी बैठकमा पनि अवरोध गर्ने चेतावनी दिएपछि सरकार अप्ठ्यारोमा परेको छ । छलफलमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको बताएका हुन् ।
छलफलपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता लेखकले भने, ‘हामीले हाम्रो पूर्व अडान राख्यौं, प्रधानमन्त्री यसमा सकारात्मक हुनुहुन्छ ।’
कांग्रेसका नेताहरूले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै संसद अवरोध गर्दै आएको छ ।
आगामी जेठ १ गते आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूलाई छलफलका लागि बालुवाटारस्थित निवासमा बोलाएका थिए ।