काठमाडौं- नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रम परम्परागत रहेको प्रतिक्रिया दिएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नीति तथा कार्यक्रम परम्परागत रहेको टिप्पणी गरेका छन् ।
लेखकले नीति तथा कार्यक्रम बारे टिप्पणी गर्दै देशमा रहेको आर्थिक मन्दीको बारेमा कुनै कार्यक्रम नै नरहेको बताएका छन् ।
उनले लाखौ बचतकर्ताको सहकारीको रकम डुबेको विषय नीति तथा कार्यक्रममा उल्लेख समेत नगरिनुले सरकार बचतकर्ताको रकम फिर्ता गर्ने र सहकारीका ठगीलाई कारवाही गर्ने विषयमा मौन रहेको बताएका छन् । उनले सरकारले अर्थतन्त्रको विषयमा कमजोर प्रतिबद्धता रहेको बताए ।
बरु महत्वपूर्ण कुराहरु छुटेको भन्दै उनले भने, ‘सहकारीका बचत गरेका मानिसहरुको मर्कालाई सम्बोधन गर्न सकेन । सहकारीमा ठगी गर्ने, रकम हिनामिना गर्ने मान्छेलाई कारबाही गर्छु भन्न सकेको छैन ।’
नियामक निकाय बनाउने पुरानै कुरा भएको भन्दै नेता लेखकले भने, ‘ठगी गर्ने मानिसलाई कारबाही गर्ने र हिनामिना भएको रकम फिर्ता गर्ने स्पष्ट प्रतिवद्धता आउन सक्नुपर्थ्यो ।’
यसले सरकार सहकारी पीडितहरुको मर्काप्रति संवदनशील छैन भन्ने प्रष्ट भएको लेखकले बताए । उनले भने, ‘सहकारीमा ठगी गर्ने मानिसहरुलाई बचाउने काममा सरकार लाागेको छ भनेर हामीले भनिराखेका थियौं । यसको पुनर्पुष्टि भएको छ ।’
स्वदेशमै रोजगार सिर्जना गर्ने बताउने दल सरकारमा गएर धेरै भन्दा धेरै नेपालीलाई विदेश पठाउने नीति लिएर आएको टिप्पणी गरे ।
त्यस्तै पुर्वअर्थमन्त्री एवं कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेसले उठाएको सहकारी ठगीको विषयमा नीति तथा कार्यक्रम मौन रहेको टिप्पणी गर्दै नीति तथा कार्यक्रम लामो भएको प्रतिक्रिया दिए ।
उनले सरकारको भनाई र गराईमा फरक रहेकोले नीति तथा कार्यक्रममा टिप्पणी गर्न आवश्यक नै नरहेको बताए ।