काठमाडौं– ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारा सुन्दा एनआईसी एशिया बैंक ग्राहकको एक मात्र विश्वासिलो बैंक होला जहाँ विश्वासका साथ आफ्नो कारोबार गर्न सकिन्छ भन्ने आभास हुन्छ । पछिल्लो समयमा न एनआईइसी एशिया बैंकले सेवाग्राहीलाई साथी सम्झिन्छ, न त सेवाग्राहीले नै । विगत केही समयदेखि एनआईसी एशिया बैंक संकटमा पर्दैछ छ चर्चा पनि बढ्दो छ । यता बैंक आफै हामी ठिकठाक छौँ भन्दै आएको छ ।
केही महिना अघि बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका सीईओ रोशन न्यौपानेको अगाडि नै एकै महिनामा बैंकको निक्षेप २३ करोडले घट्यो हैन ? भनेर प्रश्न गरेपछि सबैले बैंकको अवस्था खस्कँदै गएको अनुमान गरेका थिए ।
पछिल्लो समय राष्ट्र बैंकले निकालेको तथ्यले पनि एनआईसी एशियाको अवस्था गिर्दो रहेको प्रस्ट्याएको छ । बचत संकलनका लागि विभिन्न हल्लाले बजार पिटेपनि बैंकमा सर्वसाधारण देखि संस्थागत बचतकर्ता थपिएका छैनन् । उल्टै बैंकबाट बचतकर्ताले पुसदेखि फागुनको अवधिमा मात्रै १६ अर्ब ४३ करोड रकम निकालेका छन् भने मुद्दती खाताबाट २७ अर्ब ८५ करोड रुपैयाँ निकाली सकेका छन् ।
देशभरिकै सैयौं कार्यालयमा बचतकर्ता दिनानुदिन बचत डुब्ने चिन्ताले बैंक धाउन थालेपछि बैंक सम्बद्ध उच्च अधिकारीसहित कर्मचारी बचतकर्तालाई थामथुम गर्न लागि परेका छन् । तर, पछिल्लो तीन महिनामै झन्डै ५० अर्ब रुपैयाँ बचत ग्राहकले झिकिसकेका छन् ।
हालसालै बैंकद्वारा सार्वजनिक चालु वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार एनआइसी एसिया बैंकमा अर्को संकट र समस्यामा देखिएको छ । प्रकाशित प्रतिवेदन अनुसार बैंकको नाफा ५२.३१ प्रतिशतले गिरावट आएको छ । गत वर्षको चैत मसान्तसम्म बैंकले ४ अर्ब १ करोड रुपैयाँ बढी खुद नाफा कमाएको एनआइसी एशिया बैंकले चालु वर्षको तेस्रो त्रैमासमा १ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ५२.३१ प्रतिशतले कम हो ।
बैंकका अधिकांश सूचकमा गिरावट रहेको छ । चैत मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । चैत मसान्तमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड ५६ लाख ४२ हजार रुपैयाँ ऋणात्मक रहेको छ । यस्तै बैंकको खुद ब्याज आम्दानी चैत मसान्तमा ९.९५ प्रतिशतले घटेर ८ अर्ब १८ करोड ८१ लाख ७० हजार रुपैयाँ रहेको छ । गत आवको चैत मसान्तसम्म ९ अर्ब ९ करोड २४ लाख १७ हजार रुपैयाँ रहेको छ ।
बैंकको सञ्चालन नाफा ३७.३१ प्रतिशतले घटेर ३ अर्ब ६२ करोड ५२ लाख ७७ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ५ अर्ब ७८ करोड ३१ लाख १० हजार रुपैयाँ रहेको थियो ।
बैंकको कुल सञ्चालन आय ९.१७ प्रतिशते घटेर १० अर्ब ३० करोड १९ लाख ४७ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ११ अर्ब ३४ करोड १९ लाख ५० हजार रुपैयाँ रहेको थियो । गत आवको चैत मसान्तमा ११ अर्ब १० करोड ६५ लाख ५४ हजार रुपैयाँबाट २६.५९ प्रतिशतले घटेर खुद सञ्चालन आय ८ अर्ब १५ करोड ३४ लाख १६ हजार रुपैयाँ रहेको छ ।
बैंकको खराब १.०२ प्रतिशत बिन्दुले बढेर १.७६ प्रतिशत रहेको छ । गत आवको नौ महिनामा ०.७४ प्रतिशत रहेको थियो । बैंकको प्रति सेयर आम्दानी २९ रुपैयाँ ४७ पैसाले घटेर १७ रुपैयाँ २९ पैसा रहेको छ । गत आवको सोही अवधिमा ४७ रुपैयाँ ७६ पैसा रहेको थियो ।
यी सूचकको अलावा एनआईसी एसिया बैंकको गिर्दो अवस्था देखिने अर्को सूचक हो दोस्रो बजारमा शेयरको मूल्य, झन्डै १ वर्ष अघि ९०० रुपैयाँ प्रतिकित्ता मूल्यमा बिक्री हुने एनआईसी एसिया बैंकको भ्यालु आज ६०० रुपैयाँ भन्दा बढी घटेर झन्डै २५० को आसपास आइपुगेपछि दोस्रो बजारमा समेत एनआईसी संकटमा देखिएको छ ।
काठमाडौं उपत्यकाको प्रत्येक १ किलोमिटर दूरीमा एक शाखा वा एक एटिएमको रणनीति अनुसार सञ्जाल बिस्तार गरेको एनआइसी एशियाका लागि अहिले सञ्चालन खर्च धान्न मुस्किल परेको छ । त्यसैले गर्दा बैंकले आफ्नो शाखाहरू बन्द गर्न थालेको छ ।
पटक–पटक विभिन्न विवादमा फसिरहने बैंक पछिल्लो समय भने आफैँ संकटमा परेको छ । कुनै समय आफूलाई नम्बर वान दाबी गर्ने बैंकमा खराब कर्जा बढेसँगै संकटमा परेको हो । बैंकमा यतिसम्म संकट गहिरिएको छ कि निक्षेप संकलनमा समेत गम्भीर धक्का लागेकाले केही शाखासमेत बन्द गर्नुपरेको विवरणहरू आएका छन् ।
यसैगरी, बैंकले ३० वटा शाखा रहित बैंकिङ काउन्टरहरू बन्द गरी सकेको छ। थप ५० शाखा बन्द गर्न राष्ट्र बैंक धाइरहेकाे छ । बैंकले जेठ १८ गते १६ वटा, साउन ४ गते ४ वटा, कात्तिक २४ गते ६ वटा र माघ २९ गते थप ४ वटा गरी ३० काउन्टर बन्द गरेको हो । फागुन महिनाको पहिलो सातामा आइपुग्दा बैंकको जम्मा ४७ वटा शाखा रहित बैंकिङ सेवा काउन्टर रहेका छन् । माघ २९ गते बैंकले प्रकाशन गरेको विज्ञप्तिमा बैंकको ३६० शाखा र ११५ वटा विस्तारित काउन्टर सञ्चालनमा रहेको उल्लेख छ ।
यसैबिच, विवदास्पद व्यवसायी दुर्गा प्रसाईँले एनआइसी बैंक डुब्न लागेको भन्दै बचतकर्तालाई आफ्नो बचत झिक्न भनिरहेका समयमा सर्वसाधारणले पनि बैंकमा राखेको निक्षेप झिक्न थालेका छन् । समग्र वाणिज्य बैंकको निक्षेप १२ अर्ब रुपैयाँले बढ्दा एनआइसीको भने निक्षेप उल्लेख्यरुपमा घटेको छ ।
किन आत्तिए निक्षेपकर्ता ?
– बैंकले राष्ट्र बैंकको नियम नमानेको ।
– राष्ट्र बैंकले कारबाही गर्ने भएपछि बैंकको डेपुटी सीईओले राजीनामा दिएको ।
– राष्ट्र बैंकमा गलत विवरण पेस गरेको ।
– कर्जा प्रवाह गर्दा नियम उल्लङ्घन गरेको ।
यी सबै विषय बाहिरिएपछि निक्षेपकर्ताले एनआईसीबाट पैसा निकाल्नु नै उचित विकल्प मानेका छन् । अझ बैंकले आफ्ना शाखाहरू बन्द गर्न राष्ट्र बैंकमा निवेदन दिएपछि बैंकमाथिको विश्वास धरमराएको हो । हालै सार्वजनिक तथ्यांक अनुसार एनआइसीबाट एक महिनामै १४ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । समग्र वाणिज्य बैंकको निक्षेप १२ अर्ब रुपैयाँले बढ्दा एनआइसी एशिया बैंकको भने निक्षेप उल्लेख्य रूपमा घटेको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको निक्षेप विवरणअनुसार एनआईसीको पुसमा ३ खर्ब ८१ अर्ब ४० करोड रुपैयाँ थियो । तर, माघमा भने ३ खर्ब ६७ अर्ब ६८ करोडमा खुम्चिएको छ । वाणिज्य बैंक क्षेत्रको निक्षेप करिब १२ अर्ब रुपैयाँले बढ्दा एनआईसीको भने घटेको हो । बैंकहरुको माघमा ५४ खर्ब २९ अर्ब ६९ करोड रुपैयाँ निक्षेप थियो । तर, माघमा ५४ खर्ब ४१ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।
ऋण भन्दा धितो असुलेर ‘बिचल्ली बनाउन उद्यत’
बैंकले लामो समयदेखि ‘ओभर भ्यालुएसन’ गरेर ग्राहकलाई कर्जा दिने र कर्जाको किस्ता बुझाउन केही ढिला हुनासाथ धितो लिलामीको नाममा ऋणको धितो जफत गरेर घरबार विहीन बनाउने गरेको छ । यो बैंकको ध्यान ऋण दिएर साँवा ब्याज असुल गर्नु भन्दा पनि धितो कसरी आफ्नो कब्जामा लिने भन्ने ध्यान दिने गरेको छ ।
बैंक तथा वित्तीय संस्थामध्ये एनआईसी एसिया बैंकले ऋणको घरजग्गा कब्जा गरेपछि सबैभन्दा बढी मुद्दा खेपिरहनु परेकाले छ । किस्ता तिर्न ढिलो भएका ऋणीको घरमा सुरक्षागार्ड पठाएर मानसिक यातना र सामाजिक बेइज्जती गर्ने कार्यलाई अहिले बैंकले मुल्य मात्र बनाएको छ । पछिल्लो समय बैंकले दैनिक डेढ दुई सय वटासम्म गैर बैंकिंग सम्पत्ति बिक्री गर्न निकालेको सूचना पनि अर्को प्रमाण हो ।
बैंकका कर्मचारीकै मिलेमतोमा नक्कली धनीपूर्जा बनाएर ऋण दिएको प्रमाणित समेत भइसकेका छन् । यही देखेर नै व्यवसायी दुर्गा प्रसाईँले यो बैंकको चर्को विरोध गर्दै आएका छन् ।