पाेखरा- गण्डकी प्रदेशका १२ अस्पतालमा गर्भवती तथा सुत्केरी महिलाका लागि आवास स्थापना गरिने भएको छ ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधवार दोस्रो पटक मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम पद तथा गोपनीयताको शपथ खुवाए पदभार ग्रहण गरेका पाण्डेले यस्तो निर्णय गरेका हुन् ।
‘प्रदेश सरकार मातहतका १२ वटा अस्पतालहरूमा गर्भवती तथा सुत्केरी महिलाका लागि आवास स्थापना तथा सञ्चालन गरिने छ,’ निर्णयमा भनिएको छ ।
स्थानीय तहलाई कानुनी ज्ञान भएका जनशक्ति व्यवस्थापन गर्न न्यायिक सहजकर्ताको व्यवस्था गर्ने निर्णयमा पनि उनले हस्ताक्षर गरेका छन् ।
‘स्थानीय न्यायिक सहजकर्ता (नियुक्ति तथा परिचालन) कार्यविधि २०८१ तर्जुमा गर्ने निर्णय गरिएको छ,’ निर्णयमा उल्लेख छ ।
१४ जेठमा सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै उनी पदमुक्त हुने फैसला गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो ।
नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बेला मुख्यमन्त्री नियुक्त भएका पाण्डेले अर्थमन्त्री तत्कालै नियुक्त गर्ने तयारीमा छन् । मुख्यमन्त्री नियुक्त भएका पाण्डेले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनैपर्ने बाध्यता छ । तर, पाण्डेलाई बहुमत प्राप्त गर्न सहज भने छैन ।