काठमाडाैं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वित्तीय समानीकरण अनुदान कटौती नहुने बताएका छन् । काठमाडौं उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च ‘भ्याली मेयर्स फोरम’ टोलीसँग शुक्रबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
काठमाडौंको उपत्यकाको स्थानीय तहका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले समानीकरण अनुदान नकाट्ने प्रतिबद्धता जनाएका हुन । फोरमको तर्फबाट सहभागी प्रमुख तथा उपप्रमुखहरूले स्थानीय तहको अधिकारमा संघले हस्तक्षेप गर्न नहुने बताएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।
छलफल काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित थियो।उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले त्यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराए ।
प्रधानमन्त्रीले भने, ‘तपाईहरूको फोरमले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी कामको समन्वय सङ्घीय सरकारले गरोस् भन्ने सिफारिस गरेको छ। सोहीअनुसार सरकारले लगानी बोर्डलाई यस सम्बन्धी प्रक्रिया अगाडि बढाउन निर्देशित गरेको छ। लगानी बोर्डको बैठकमा समेत यस सम्बन्धी छलफल भई कार्यान्वयनमा अगाडि बढ्ने निर्णय भएको छ। अब यो काम तीव्रतामा अगाडि बढ्छ।’
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल लगायत काठमाडौं उपत्यकाभित्रका नगरपालिकाका मेयर, उपमेयरको प्रतिनिधित्व रहेको बैठकले समन्वयका साथ फोहोर व्यवस्थापन गर्नेसम्बन्धी छलफल गरेको हो ।
मेयर्स फोरमको टोली प्रधानमन्त्री कार्यालय पुग्दा काठमाडौंका मेयर बालेन साह भने सहभागी भएनन् ।