काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोजीमा राजीनामा बोकेर हिँड्नु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिचान भएको बताएका छन् ।
हालै रास्वपाबाट खेलकुद मन्त्री भएका विराजभक्त श्रेष्ठले राजीनामापत्रमा हस्ताक्षर गर्न मात्रै बाँकी रहेको बताएका छन् ।
सोमबार भरतपुर विमानस्थलमा पत्रकाहरूले प्रधानमन्त्रीलाई रास्वपाका मन्त्रीले गोजीमा राजीनामा पत्र बोकेर हिँडेकोबारे प्रश्न गरेका थिए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘यो त रविजीले सुरुमै भन्नुहुन्थ्यो, हामी त्यस्ता हौँ भनेर । त्यो आफ्नो पहिचानका निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला ।’
आफूले बुझ्दा रास्वपाका मन्त्रीहरूले राजीनामा दिनेबारे केही पनि कुरा नभएको प्रधानमन्त्रीको भनाइ छ ।
तपाईंले उथलपुथल गर्ने बेला त भएको छैन नि? भन्ने सञ्चारकर्मीको जिज्ञासामा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘भा छैन। यो जान्छ, राम्रैसँग जान्छ। बाहिर कतिपय सन्दर्भमा मिडियामा आउने र्युमरहरूमा कुनै सत्यता छैन।’
साथै, उनले सरकारका मन्त्रीहरूको १ सय दिनको उपलब्धि राम्रै पाएको जिकिर गरे।
‘१० दिनको उपलब्धि राम्रो नै छ। सबैभन्दा ठूलो कुरा नीति कार्यक्रम र बजेट जनताको पक्षमा राष्ट्रको पक्षमा प्रस्तुत भएको छ। राम्रैसँग प्रतिनिधिसभाबाट पारित पनि हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसको साथै अन्य सुशासन र सामाजिक न्याय समृद्धिको क्षेत्रमा पनि सकारात्मक पहलहरू अगाडि आएका छन्। यो सन्तोषजनक छ। तैपनि विगतमा भनेजस्तै, राष्ट्र र जनताको अपेक्षा अनुसार अझै गति लिन आवश्यक छ।’