काठमाडाैं– आश्विन दानीको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टीको शुभेच्छुक संस्था ‘नागरिक पत्रकार समाज’ गठन भएको छ । दानीको संयोजकत्वमा ३१ सदस्यीय तदर्थ कमिटी गठन भएको हो । बुधवार पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा बसेको बैठकले दानीको नेतृत्वमा तदर्थ कमिटी गठन गरेको हो ।
दानीको नेतृत्वमा गठन भएको कमिटीमा शिवम मिश्र, प्रियका कामत, सञ्जीव कुमार झा, शान्ति घतराज (बराइली), प्रत्युत्तर लगुन, नरेन्द्र विष्ट, दीपक बिसी, अतीत पोखरेल, सुशान्त घिमिरे, पङ्कज मिश्र, अनुसा सिजापति, आनन्द शर्मा, चन्दन प्रसाद पटेल, आरती ठाकुर, सन्दीप शर्मा, मदन शाही, ऋषि वाग्ले, शम्भुप्रसाद थारु, जीवन डङ्गोल, नरेश चौधरी, सुसन रामदाम, आदित्य अजय, नीरज झा, जुगेश दास, मोहन बराइली, किशोरी प्रजापति, आदर्श कटवाल रहेका छन् ।
कमिटीले तत्काल अर्को बैठकमा प्रथम महाधिवेशन तथा विधान अधिवेशनको मिति तोक्ने र सङ्गठनको बिस्तार गर्ने संयोजक दानीले बताए । ‘हामीले अहिले भर्खरै कमिटीको बिउ मात्रै छरेका छौँ, रोपेका मात्रै हौँ । यसलाई मलजल गरेर थुप्रै कामहरू गर्नुपर्नेछ । पत्रकारितामा नयाँ पुस्ता, नयाँ जोस र जाँगर भएका सम्पूर्ण साथीहरूलाई साथमा समेटेर अग्रजहरूको सल्लाह र सुझाव अनुसार पत्रकारिताको माध्यमबाट पेसागत मूल्य, मान्यता, आचारसंहिता र मर्यादामा रहँदै पार्टीका निम्ति काम गर्नेछौँ’, दानीले भने ।
पत्रकारहरूको हकहितका निम्ति काम गर्ने भनेर खोलिएका थुप्रै संगठनहरु भए पनि श्रमजीवी र कलमजीका पक्षमा काम नगर्दा वास्तविक पत्रकारहरूले समस्या झेल्दै आउनु परेको दानीको तर्क छ ।
उनले भने, ‘नेपाली पत्रकारिताको इतिहासदेखि वर्तमान र भविष्य नियाल्दा पत्रकारहरूका पक्षमा काम गर्ने, आवाज उठाउने भनेर खोलिएका संस्थाहरूले वास्तविक पत्रकार, श्रमजीवीहरूका पक्षमा काम गरेका छैनन् । तर, पत्रकारका पेसागत थुप्रै चुनौतीहरू छन् । त्यसका लागि एउटा योजना बनाएर अब हामीले नागरिक पत्रकार समाज देशभरका पत्रकारहरूको साझा संस्था÷आफ्नो संस्था हो भन्ने भावना जागृत हुने गरी काम गर्नेछौँ ।’
देशभरबाट पत्रकारहरूलाई यस संगठनमा आबद्धता हुनका लागि संयोजक दानीले आव्हान पनि गरेका छन् ।
पार्टी अध्यक्ष चौधरीले सबैलाई बधाई तथा शुभकामना प्रदान गर्दै पेसागत धर्म निभाउँदै पार्टीको नीति, विधान र सिद्धान्त अनुसार काम गर्न निर्देशन दिएकी थिइन् ।
‘पत्रकारिता पेसा राष्ट्रको चौथो अंग पनि भएकाले देशको विकास र सम्बृद्धिका लागि तपाइहरूको विशेष भूमिका हुन्छ । आज देशको पहिचानको रक्षा गर्दै, पहिचानका आधारमा संघियता कार्यान्वयन गर्दै, सुशासन र भ्रष्ट्राचाररहित विकसित देशको परिकल्पना गरेर नेपालको वैकल्पिक शक्तिशाली राजनीतिक शक्ति बन्ने तरिकाले हाम्रो पार्टी लागिरहेको छ । यस अभियानमा पत्रकार साथीहरूको विशेष भूमिका रहन्छ भन्ने कुरामा म विश्वस्त छु ।’