चितवन– भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गरेका छन्। उपप्रमुखले आर्थिक वर्ष २०८१/८२ को लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेस गरेका हुन्।
उनले अधुरा र क्रमगत आयोजनाहरुको निरन्तरताका लागि १ अर्ब ६० करोड विनियोजन गरेको बताए। वडास्तरबाट हुने आयोजनाका लागि ८२ करोड विनियोजन गरिएको छ।
महानगरपालिकाका ठूला तथा रणनीथिक महत्पका साथै गौरव पूर्वाधार निर्माण गर्न र संघ र प्रदेशबाट प्रस्ताव भएका योजना कार्यान्यवन गर्न समपुरक साझेदारी कोष स्थापना गर्न १२ करोड छुट्याइएको छ।
मेयर विपन्न आवास कार्यक्रमको लागि बजेट विनियोजन गरेको जानकारी दिँदै उनले महानगरभित्र नमुना सडक, व्यायामशाला आदि निर्माणका लागि १४ करोड विनियोजन गरिएको बताए।
दियालो बंगला संग्रहालयका रुपमा संचालनमा ल्याउन १ करोड विनियोजन गरिएको छ। सडक मर्मतका लागि ५ करोड ७५ लाख विनियोजन गरिएको छ।
महानगरपालिकामा हरियाली कार्यक्रम र हरित नमूना सडकका लागि ५ करोड र फोहरमैलाको दीर्घकालीन समाधानका लागि पनि ५ करोड विनियोजन गरिएको छ।
रोजगार प्रवर्धन र उद्यमशीलता विकासका लागि महानगरले १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। संघ र प्रदेश सरकारसँग सहकार्य गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि महानगरले ४ करोड ३० लाख रुपैयाँ छुट्याएको छ।
महानगरले छोरी बीमा कार्यक्रम, एक वडा : एक जेष्ठ नागरिक विश्रामस्थल कार्यक्रमका लागि पनि बजेट विनियोजन गरेको अधिकारीले बताए।
विपद् व्यवस्थापनका लागि १ करोड ५० लाख छुट्याइएको छ। महानगरभित्र सीसी क्यामरा जडानका लागि ८ करोड विनियोजन गरिएको छ भने महानगरको प्रशासनिक भवन निर्माण र साजसज्जाका लागि ५ करोड छुट्याइएको छ।
बजेट अघि महानगर प्रमुख रेनु दाहालले आज आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पेस गरेकी थिइन्।
नीति तथा कार्यक्रममा उनले एकीकृत सहरी खानेपानी तथा ढल व्यवस्थापन आयोजना, उज्यालो भरतपुर, हरित ऊर्जाको खपत, सी बीच मोडलसहितको मनोरञ्जन पार्क, गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला, संघीय शिक्षक अस्पताल, नो भेहिकल जोन पहिचान गरि कार्यान्वयनमा ल्याउने लगायतका कार्यक्रम पेस गरेकी थिइन्।