काठमाडौं– एनआईसी एसिया बैंकले भाखा नाघेको कर्जा भुक्तानी गर्ने ऋणीलाई छुट दिने योजना सार्वजनिक गरेको छ ।
२०८० चैत्रमा भाखा नाघेको ऋणीले २०८१ असार महिनाभित्र ऋण चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत र साधारण बक्यौता ब्याज रकममा १५ देखि ३५ प्रतिशतसम्म छुट उपलब्ध गराउने भएको छ ।
बैंकले जारी गरेको सूचना अनुसार भाखा नाघेको समयावधि ९१ दिनदेखि १८० दिन भएमा साधारण ब्याज रकममा १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिनको २५ प्रतिशत र ३६५ दिनभन्दा बढीको ३५ प्रतिशत छुट पाउने छ ।
मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालु पुँजी कर्जा तथा अन्य रिभल्बिङ प्रकृतिका कर्जा लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ऋणीले यस योजनाबाट लाभ लिन सक्ने सूचनामा उल्लेख छ ।
याे पनि,
संकटको बाटो पछ्याउँदै एनआईसी एशिया, ऋण भन्दा धितो असुलेर ‘बिचल्ली बनाउन उद्यत’
संकटमा एनआईसी: ऋण उठाउन नसकेपछि गुहार्यो ‘कम्पनी रजिस्ट्रार कार्यालय’
संकटमा एनआईसी: भू-माफियाको मिलेमतोमा ऋणीको धितो बिक्री, स्थानीय आन्दोलित
केन्द्रीय बैँकले प्रदान गरेको निर्देशित कर्जालाई मनोमानी ढंगबाट खर्च गरेको र दोहोरो ब्यालेन्ससिट बनाएर कर्जा प्रवाह गरेको भन्दै राष्ट्र बैँकको सुपरिवेक्षण विभागले एनआइसीमाथि लामो समयदेखि निगरानी गरिरहेको छ ।
ठुलो विज्ञापन र चर्चाका साथ उपस्थिति बलियो बनाउँदै आएको भए पनि बैँकमा खराब कर्जा (ब्याड डेब्ट) बढेपछि एनआइसी गम्भीर समस्यामा फस्न सक्ने आँकलन गर्दै केन्द्रीय बैँकले आशंकित फाइलहरूका सूक्ष्म अध्ययन गरिरहेको हो ।
एनआइसीमा व्यवस्थापकीय कमजोर भएको तथ्य यसअघि नै सार्वजनिक भएको थियो । स्विफ्ट ह्याक प्रकरणले निकै नै कमजोर बनेको एनआइसी पछिल्लो चरण अत्यधिक विज्ञापन र चर्को कर्जामार्फत एकाएक पुनः चर्चामा आएको थियो । बैँक भित्र कर्मचारीको शोषण देखि मिलेमतोमा धेरै सर्वसाधारणको सम्पत्ति कब्जा गरेको तथ्य समेत प्रकाशित भइसकेको छ ।
राजधानीकै धापासीमा रहेको २६ रोपनी ९ आना जग्गा बैंकले कौडीको भाउमा लिलामी गरेको तथ्य समेत सार्वजनिक भइसकेको छ । उच्च तहका व्यवस्थापकको मिलेमतोमा सो जग्गा कब्जा गरी बैँकको मुख्यालय बनाउने एनआइसीले तयारी थालेको थियो । यो जग्गाको मुद्दा अहिले अदालतमा विचाराधीन छ । एनआइसीले उक्त मुद्दामा नाम चलेका ३६ भन्दा बढी वकिलहरू राखेको छ ।
त्यतिमात्र होइन सुर्खेतमा बसेर व्यवसाय गर्ने अलि दम्पत्तीलाई समेत एनआइसीले सडकमा पुर्याइदिएको तथ्य प्रकाशित भइसकेको छ । उनीसँग भएको करिब ६ करोड बराबरको सम्पत्ति एनआइसीले मिलेमतोमार्फत ८७ लाखमा लिलाम गरेको थियो । लिलामी गर्दा हुनुपर्ने प्रक्रियासमेत पुरा नगरी बैँकले ठाडो लिलामी गरेको भन्दै चर्को विवाद भइरहेको छ ।