काठमाडाैं- जीतपुरसिमरा उपमहानगरपालिकाको दशौँ नगरसभाको बैठक सोमबार तनावपूर्ण अवस्थापछि अवरुद्ध भयाे । अवैधानिक ढंगबाट सभा सम्पन्न गर्न खोजिएपछि अधिकांश नगरसभा सदस्य तोडफोडमा उत्रिए ।
जीतपुरस्थित प्राइम पार्टी प्यालेसमा आयोजित बैठकमा मेयर राजन पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न थाले । अवैध ढंगले नगरसभा गर्न लागिएको भन्दै यसअघिका दुई बैठक बहिष्कार गरेका उपमेयर भोलाप्रसाद अधिकारीसहितका अधिकांश सदस्य विरोधमा उत्रिए ।
बैठकको विरोध गर्दै सभास्थल प्रवेश गरेका नगरसभा सदस्यले कुर्सी भाँच्न थालेपछि स्थिति तनावपूर्ण बन्याे । उनीहरूले मेयर पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएनन् । आक्रोशित नगरसभा सदस्यको विरोध र तोडफोडपछि प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले मेयर पौडेललाई सुरक्षा दिएर स्टेजमै राखेका थिए ।
कडा सुरक्षा घेराबिच बैठक स्थल प्रवेश गरेका मेयरले नगरसभा सञ्चालन नियमावली २०७५ को दफा ५ को उपदफा (३) बमोजिम २५ प्रतिशत सदस्यको उपस्थिति नहुँदै नीति तथा कार्यक्रम वाचन गर्न थाले । उपदफा (१) र (२) बमोजिम असार ५ र ८ गतेको बैठक स्थगित भएपछि उपदफा (३) बमोजिम २५ प्रतिशतको उपस्थितिमा बैठक बस्न सक्ने नियमावलीमा व्यवस्था छ ।
तर मेयर पौडेलले हाल कायम सदस्यको २५ प्रतिशत अर्थात् ३१ जना सदस्यको उपस्थिति नहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेपछि नगरसभा सदस्यले विरोध गरेका हुन् । मेयर पौडेल बैठक स्थलमा प्रवेश गर्दा २७ जना नगरसभा सदस्यले मात्रै उपस्थिति जनाएका थिए । आफू समेत हाजिरी पुस्तिकामा उपस्थिति नजनाई बैठक स्थल प्रवेश गरेका मेयर पौडेलले राष्ट्रिय धुन बजे लगत्तै नीति तथा कार्यक्रम वाचन गर्न थालेपछि ९४ जना सदस्य बैठक स्थल प्रवेश गरेपछि सभा बिथोलिएको थियो ।
उपमेयर अधिकारीसहित नगरसभा सदस्यलाई बैठक स्थलमा प्रवेश गर्ने क्रममा सुरक्षाकर्मीले रोक्दा केही बेर घम्साघम्सी समेत भएको थियो । बैठक स्थल प्रवेश गर्न लागेका जनप्रतिनिधिलाई रोक्न सुरक्षाकर्मीले अनावश्यक बल प्रयोग गरेपछि स्थिति थप बिग्रिन पुगेको थियो ।
यसरी बिथोलिन पुग्यो नगरसभा बैठक
नगरसभा सञ्चालन नियमावली २०७५ को ५ उपदफा (१) बमोजिम मेयर पौडेलले असार ५ गते पहिलो नगरसभा बैठक बोलाएका थिए । तर कार्यपालिका बैठकमा नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल नै नभएको भन्दै उपमेयरसहित वडाध्यक्ष र कार्यपालिका सदस्यले पहिलो बैठक बहिष्कार गरेका थिए ।
पहिलो बैठकमा एमाले, कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादीबाट निर्वाचित नगर सदस्य उपस्थित भएनन् । उपदफा (१) अनुसार बैठक सञ्चालनका लागि ५० प्रतिशत भन्दा बढी सदस्यको उपस्थिति अनिवार्य छ ।
नियमावली अनुसार गणपूरक संख्या नपुगेपछि मेयर पौडेलले तत्कालै उक्त बैठक स्थगन गरेर उपदफा (२) बमोजिम दोस्रो बैठक आह्वान गरे । दोस्रो बैठकमा पनि ५० प्रतिशत भन्दा बढी सदस्य उपस्थित भएनन् । मेयर पौडेलले दोस्रो बैठक पनि स्थगित गरेर उपदफा (३) बमोजिम तेस्रो बैठक असार १० गतेका लागि बोलाएका थिए । उपदफा (३) मा २५ प्रतिशतको उपस्थितिमा बैठक बस्न सक्ने प्रावधान छ ।
तर अधिकांश सदस्य विरोधमा रहेका कारण मेयरलाई २५ प्रतिशत पुर्याउन सकस देखिन्थ्यो । उनले माओवादी केन्द्रबाट निर्वाचित आफूसहित २० सदस्यमा थप ११ जनाको समर्थन खोजिरहेका थिए । त्यसका लागि समाजवादीबाट निर्वाचित चार र कांग्रेसबाट वडा नं. २४ मा निर्वाचित तीन सदस्यको समर्थन अन्तिम समयमा प्राप्त गरेका थिए । तर उनले २५ प्रतिशत समर्थन प्राप्त गर्न सकेनन् ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बज्न लागिसक्दा पनि सुरु भएको थिएन । यसबिचमै मेयर पौडेल सुरक्षा घेराबिच बैठक स्थल प्रवेश गरे । उनलाई प्रहरी र नगर प्रहरीले सुरक्षा दिएर बैठक स्थल भित्र प्रवेश गराएका थिए ।
मेयर पौडेल प्रवेश गरे लगत्तै राष्ट्रिय गान सुरु भयो । त्यस लगत्तै उनले नीति तथा कार्यक्रम वाचन गर्न थाले । उनले नीति तथा कार्यक्रम पढ्न सुरु गरे लगत्तै बैठक स्थलमा रहेका असन्तुष्ट नगरसभा सदस्यले अवरोध गरे । सो लगत्तै प्रहरीको सुरक्षा घेरा तोडेर उपमेयर अधिकारीसहितका नगरसभा सदस्य बैठक स्थल प्रवेश गरेपछि मेयरले नीति तथा कार्यक्रम पढ्ने वातावरण बन्न सकेन ।
नीति तथा कार्यक्रम र बजेट पास भयो: प्रमुख
तनावपूर्ण अवस्था भएपछि बैठक बिथोलिए पनि मेयर पौडेल नीति तथा कार्यक्रम र बजेट पास भएको दावी गर्छन् । सुरक्षाकर्मीको घेराकाबिच सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रम र बजेट पास भएको दाबी गरे । उनले पास भएको बजेटलाई स्विकारेर हिँड्न आग्रह गरेका थिए ।
पौडेलले उक्त दाबी गरिरहँदा बैठक स्थलमा नीति तथा कार्यक्रम र बजेट भने प्रस्तुत भएको थियाे । मेयर पौडेलले बजेट वक्तव्य कार्यपालिका सदस्य रामप्रसाद लामिछानेले पढेको र उक्त बजेट सभाले पास भएको दाबी गरिरहेका थिए । तर वडाध्यक्ष लामिछानेले भने बजेट प्रस्तुत नै हुन नपाएको बताउँछन् ।
नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छैन: उपमेयर अधिकारी
उपमेयर अधिकारीले अवैधानिक रूपमा आयोजना गरिएको बैठकमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत नै नभएको बताएका छन् । बैठक स्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अधिकारीले नीति तथा कार्यक्रम र बजेट सभामा प्रस्तुत नभएको र पास पनि नभएको बताए ।
मेयर पौडेलले सिमरामा बसेर अवैध ढंगले २५ प्रतिशतको उपस्थिति गराएर नगरसभामा आएको र सोही आधारमा नीति तथा कार्यक्रम र बजेट पारित भएको भन्ने आफूले सुने पनि त्यस्तो कुरामा नलाग्न समेत अधिकारीले आग्रह गरेका छन् । अधिकांश नगरसभा सदस्यको भावना र चाहना विपरीत मेयर एकलौटी ढंगबाट अघि बढ्न खोजे त्यसको प्रतिवाद गर्न आफूहरू समेत तयार रहेको अधिकारीको भनाई थियो ।
प्रहरीको गाडीमा राखेर मेयरलाई भगाइयो
नगरसभा बैठक अवरुद्ध भएपछि मेयर पौडेल स्टेजमै सुरक्षाकर्मीको घेरामा बसिरहेका थिए । उनलाई तीन तहमा सुरक्षा दिएका थिए ।
तोडफोडमा उत्रिएका नगरसभा सदस्यले बैठक स्थलबाट बाहिर निस्किन नदिएपछि मेयरलाई सुरक्षाकर्मीले सुरक्षा दिएका थिए । उनलाई बैठक स्थलबाट पटक पटक निकाल्ने प्रयास गरे पनि नगरसभा सदस्यले विरोध गरेपछि प्रहरीले पुनः स्टेजमै लगेर राखेका थिए ।
यसबिचमै प्रहरीले नगरसभा सदस्यलाई झुक्याउँदैं मेयर पौडेललाई बैठक स्थलबाट भगाएको थियो । नगरसभा सदस्यलाई बैठक स्थलमै घेरेर राख्दै प्रहरीले अर्को ढोकाको प्रयोग गरेर मेयरलाइ भगाएकाे थियो । सो क्रममा निकै घम्साघम्सी समेत भएको थियो ।
संवादविहीन अवस्थाले निम्त्याएको द्वन्द्व
यसअघिका नगरसभामा पनि विवाद नदेखिएको होइन । मेयरमा राजन पौडेल निर्वाचित भएकै पहिलो नगरसभामा पनि ठुलै विवाद भएको थियो । त्यस बेला संवाद र छलफलबाटै समाधान निकालेर सफल रूपमा नगरसभा सम्पन्न भएका थियो । त्यसपछिका अन्य सभामा पनि विवाद नदेखिएका होइनन् । तर यस पटक तोडफोड नै हुने स्थिति उत्पन्न भयो । यसरी विवाद चुलिनुको मुख्य कारण भने संवाद र छलफल नहुँदाको परिणाम हो ।
नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा कार्यपालिका सदस्यकाबीच घनिभूत छलफल हुनुपर्थ्यो । तर कार्यपालिका बैठकमा यस विषयमा छलफल हुन सकेन । नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने बेलामा कार्यपालिकाका अधिकांश सदस्य अन्तरपालिका नाम दिइएको भ्रमणमा व्यस्त रहेका थिए ।
त्यस बेलामै मेयर पौडेलले नगरसभाको तयारी गरे । भ्रमणमा जाने भनेर अन्तिम समयमा स्थगित गरेका पौडेल नगरसभाको तयारीमा जुटे । कार्यपालिकाका अधिकांश सदस्य भ्रमणमै रहेका बेला प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले नगरसभाको मिति तोकेर सूचना प्रवाह गरिन् । उक्त सूचनामा असार ५ गते नगरसभा बोलाइएको थियो ।
त्यति बेला अन्तरपालिका भ्रमणका सदस्य फर्किएका थिएनन् । उनीहरू भ्रमणमै रहेका बेला मेयर पौडेलले असार ४ गतेका लागि कार्यपालिका बैठक बोलाए । नगरसभाको अघिल्लो दिन बोलाइएको कार्यपालिका बैठक विवादरहित हुन सकेन ।
कार्यपालिकामा नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल नै नगरी नगरसभा बोलाएको भन्दै अधिकांश कार्यपालिका सदस्यले मेयरमाथि असन्तुष्टि र आक्रोश व्यक्त गरे । उनीहरूले नगरसभाको मिति पछाडि सार्न र कार्यपालिकाबाट छलफल गरेर अघि बढ्न अनुरोध पनि गरे ।
तर मेयरले आफ्नो अडान छाडेनन् । उनले नगरसभाको मिति नसार्ने तर असार ५ गते बिहान ९ बजेका लागि बैठक बोलाए । उक्त बैठकमा मेयर, उपमेयर उपस्थित भएनन् । सोही समयमा कार्यपालिका सदस्यले पत्रकार सम्मेलन समेत आयोजना गरेर असन्तुष्टि व्यक्त गरे ।
असार ५ गतेको बैठक गणपूरक संख्या स्थगित भएपछि नगरसभाको बैठक बस्न सकेन । नीति तथा कार्यक्रम बनाउने मेयर र बजेट बनाउने उपमेयरबिच संवाद हुन सकेन । मेयर नगरसभा सञ्चालन नियमावली २०७५ को दफा ५ बमोजिम नगर सभा गर्ने तयारी गरेपछि उपमेयरसहित अन्य सदस्य सोही दफा बमोजिम नगरसभा हुन नदिने तयारीमा जुटे ।
दुवै पक्षबिच विषय केन्द्रित औपचारिक छलफल हुन सकेन । वडाध्यक्ष र कार्यपालिकाका अधिकांश सदस्यले नीति तथा कार्यक्रम र बजेट कार्यपालिका बैठकमा छलफल गरेर अघि बढ्न मेयरलाई प्रस्ताव गर्दा उनी भने कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट पास भइसकेको बत्ताउँथे । तर, कार्यपालिका बैठकमा नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल समेत नभएको उपमेयर अधिकारी बताउँछन् ।
यसबिचमा नगरसभा सफल बनाउने विषयमा केन्द्रित रहेर छलफल र संवाद नहुँदा तेस्रो बैठक तनावपूर्ण र अनिर्णीत बन्न पुग्यो ।