काठमाडौं– पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।
उनलाई सीआईबीको टोलीले बौद्धबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा थापा फरार थिए ।
बादल गृहमन्त्री भएका बेला उनी केही समय स्वकीय सचिव समेत बनेका थिए । तर, मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो ।
भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदनमै नक्कली नामहरु घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो । त्यसक्रममा थापाले विचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
यसमा बादलका उनका सुरक्षा सल्लाहकार इन्द्रजित राई, राईका छोरा निरज राई, तत्कालीन उर्जामन्त्री एवं हालका एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी पनि जोडिएका थिए । तर, बादल गृहमन्त्री भएका बेला कार्यदलको प्रतिवेदनमा विचौलियाको सूचीअनुसारको नामहरु थप्न नसकेपछि बालकृष्ण खाँण गृहमन्त्री भएका बेला प्रतिवेदन नै कीर्ते गरेर नेपाली युवालाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो ।
त्यसबेला उनले मन्त्रालयमा हुँदा कोही कसैसँग सम्झौता जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गरेका थिए ।
यद्यपि, भुटानी शरणार्थी प्रकरणका पीडित प्रेमराज पन्थीले उनलाई एक करोड रुपैयाँ घुस दिएको जाहेरीमा उल्लेख गरेका थिए ।
नक्सालस्थित निलगिरि रेष्टुरेन्टबाहिर पार्किङ गरिराखेको गाडीमा चिरञ्जीवी आचार्यमार्फत आएको रकम केशव दुलाल र प्रतिक थापालाई दिएको उनले भनेका छन् ।