काठमाडाैं- नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा सडक बत्तीको महसुल बुझाउने सुविधा स्थानीय तहहरुलाई दिने भएको छ । प्राधिकरणले ६० महिनासम्मको बक्यौता रकम किस्ताबन्दीमा बुझाउन पाउने गरि आज सूचना जारी गरेको हो।
किस्ताबन्दीमा रकम बुझाउन चाहने स्थानीय तहले ४५ दिन भित्र आवेदन दिनुपर्ने प्राधिकरणले सूचनाबाट आग्रह गरेको छ।
यसअघि प्राधिकरणले स्थानीय तहलाई बक्यौता बुझाउन सूचना जारी गरेको थियो। प्राधिकरणले स्थानीय तहलाई हालसम्म प्रयोग गरिएका सडक बत्तीको बक्यौता महसुल समर्थन गरि आवश्यक भएमा किस्ताबन्दीमा तिर्न सक्ने सुविधा उपलब्ध गराएको थियो।
चैत १६ गते प्राधिकरणले सूचना जारी गर्दै देशभरका स्थानीय तहले सडक बत्ती प्रयोग गरे बापत् भुक्तानी नगरेको भन्दै सडक बत्तीको प्रयोग गरे बापत् विद्युत महसुल तिर्न आह्वान गरेको थियो। सो आधारमा केही स्थानीय तहले बक्यौता महुसल समर्थन गरि भुक्तानी गर्ने प्रतिबद्धा व्यक्त गरेका थिए। यस्तै, केहीले भुक्तानी पनि गरेको प्राधिकरणले जनाएको थियो।
सो सूचना पछि नेपाल विद्युत प्राधिकरणले स्थानीय तहहरुलाई सडक बत्तीको बक्यौता भुक्तानीका लागि पुन: आह्वान गरेको थियो। स्थानीय तहलाई पटकपटक भुक्तानीका लागि आग्रह गरे पनि सो अनुसार काम नभएको भन्दै त्यस्ता स्थानीय तहमा रहेका सडक बत्तीहरुको विद्युत लाइन जुनसुकै बेला काटिन सक्ने चेतावनी दिएको थियो।
प्राधिकारणका अनुसार देशभरका विभिन्न स्थानीय तहहरुले सडक बत्ती प्रयोग गरे बापत् करिब ६ अर्ब रुपैयाँ भन्दा बढी विद्युत महसुल तिर्न बाँकी रहेको छ।