काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू मध्यरातमा राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन्।
कांग्रेस-एमाले मिलेर ओली नेतृत्वमा सरकार बनाउने सहमति भएसँगै दुई दलका नेता राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।
कांग्रेसका तर्फबाट देउवासहित नेताहरू रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् भने एमालेबाट ओली, महासचिव शंकर पोखरेललगायत नेताहरू रहेका छन् ।
एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड विश्वास मत लिन असफल भए संविधानको धारा ७६ को २ अनुसार नै सरकार आह्वानको परिस्थिति निर्माणका लागि उनीहरू शीतल पुगेका हुन् ।
यसअघि ०७९ पुस १० मा देउवाले संसद्को पहिलो दलको हैसियतमा संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्री बन्ने योजना बनाएपछि कांग्रेस र एमालेको सत्ता सहकार्यको प्रयासमा ब्रेक लागेको थियो । राष्ट्रपति पौडेललाई विश्वासमा लिएर ओलीले सरकारबाट समर्थन फिर्ता लिन चाहेको कांग्रेस नेताहरू बताउँछन् ।
के छ भिभान्ता होटलमा बसेर टुंग्याएको सहमति पत्रमा ?
एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ ।
ललितपुरको भिभान्तामा होटलमा दुई दलका दोस्रो तहका नेताहरू लिखित सहमतिको मस्यौदा निर्माणमा जुटिरहेका छन् ।
नयाँ सरकारको मुख्य उद्देश्य संविधान संशोधन रहेकाले दुई तिहाइ पुर्याउन सांसदका साना दलहरू लोसपा र राप्रपालाई पनि सरकारमा ल्याउने तयारी छ ।
सहमतिमा प्रदेश सरकारको पनि बाँडफाँट गरिएको छ । जसअनुसार, एमालेले कोशी, लुम्बिनी र कर्णाली पाउने छ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गर्ने छ । मधेस प्रदेशमा मधेस केन्द्रित दललाई नेतृत्व दिने सहमति छ ।
दुई दल संविधान संशोधन गरेर निर्वाचन प्रणाली संशोधन गर्न सहमत भएका छन् । त्यसका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको अध्यक्षतामा संविधान संशोधन सुझाव समिति बनाउने तयारी छ । त्यस्तै, संविधान संशोधनमा स्थानीय तहको संख्या घटाएर वडाको संख्या बढाउने, प्रदेशको समानुपातिक व्यवस्था खारेज गर्ने, संघमा पनि राष्ट्रियसभामा समानुपातिक व्यवस्था गर्ने प्रदेश प्रमुखलाई केन्द्रबाट तोक्ने लगायतका समझदारी भएका छन् ।
त्यस्तै, प्रदेशको संख्यामा पनि पुनरावलोकन गर्ने र राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनेसहितका विषयसमेत समावेश हुने भनिएको छ । राष्ट्रियसभा १०० सिटको बनाउने र पूर्ण समानुपातिक हुने र प्रतिनिधिसभा २४० वा २०५ सदस्यीय बनाई प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा २०५ वा बढीमा २४० सदस्यीय बनाउने समझदारी बनेको छ ।
सहमतिको मस्यौदामा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गर्न बाँकी नै छ । तर, नयाँ सरकारको सहमतिमा दुई नेताले एक व्यवसायीको घरमा हस्ताक्षर गर्दैछन् । त्यसका लागि देउवा र ओली निवासबाट निस्किसकेका छन् ।