काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीले पदबाट राजीनामा नदिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार तत्काल नछाड्ने रणनीति बनाउदै पदबाट राजीनामा नदिने भएका हुन ।
‘प्रधानमन्त्रीको राजीनामा नआएसम्म हाम्रा मन्त्रीहरूले सरकार छोड्नु हुन्न’, रास्वपाका एक नेताले भने । नेपाली कांग्रेससँग मिलेर आफ्नो पार्टीको सरकार बन्ने भएपछि एमाले मन्त्रीहरू भने प्रचण्ड सरकारबाट राजीनामा दिने तयारीमा छन् ।
यसैबीच मध्यरातमा कांग्रेस सभापति देउवासँग लिखित सहमति गरेका एमालेका अध्यक्ष ओली अहिले विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराउन र मार्ग प्रशस्त गर्न सुझाव दिनका लागि ओली बालुवाटार पुगेको बताइएको छ ।
बालुवाटारमा अहिले माओवादी केन्द्रको पदाधिकारी बैठक समेत बस्दैछ । कांग्रेस र एमालेबीचको पछिल्लो सहमतिपछिको कदमबारे छलफल गर्न प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन् ।