काठमाडौं- चन्द्रागिरि नगरपालिका वडा नं २ का वडाध्यक्ष भाइकृष्ण तामाङविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनका लागि वडाध्यक्ष तामाङको निर्देशनमा स्थानीय धुर्वबहादुर कडायतले घुस उठाउने गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ९ गते एक बिचौलियालाई नियन्त्रणमा लिएको थियो।
वडाध्यक्ष तामाङ र बिचौलिया भनिएका कडायतविरूद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
सेवाग्राहीबाट नगद दुई लाख र चेकबाट दुई लाख गरी चार लाख घुस लिएको पुष्टि भएकाले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
कडायतले वडाध्यक्ष तामाङको निर्देशनबमोजिम घूस मागिरहेको भन्ने सूचना पाएपछि अख्तियारले निगरानी गरिरहेको थियो।
उनका विरुद्ध केही उजुरी पनि परिरहेका थिए। ती सूचना र उजुरीका आधारमा अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई पछ्याएको थियो।
उनलाई सेवाग्राहीबाट नगद २ लाख र उनकै नाममा काटिएको २ लाख रुपैयाँबराबरको चेक गरी चार लाख घुससहित नियन्त्रणमा लिइएको थियो।
कडायतलाई बलम्वुस्थित नगरपालिका कार्यालयको गेटअगाडि सडकबाट पक्राउ गरेको र अख्तियारको हिरासतमा राखी थप अनुसन्धान भइरहेको घिमिरेले जानकारी दिए।
गतवर्ष भएको स्थानीय तह निर्वाचनमा उनीसहित माओवादी केन्द्रले प्यानलै जितेको थियो ।