गोरखा– पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको नीति तथा कार्यक्रममा ‘वनको बाँदर वनैमा’ कार्यक्रम सफल बनाउन छलफल गरेकाे छ । डिभिजन वन कार्यालय, गोरखाको सहकार्यमा नगरपालिकाले नीति तथा कार्यक्रम सफल बनाउन छलफल गरेको हो ।
नगरपालिकाका मेयर विवश चिन्तनले बाँदरका कारण कृषकहरू ठुलो समस्यामा परेकाले आफुँहरुले ‘वनको बाँदर वनैमा’ कार्यक्रम ल्याइएको बताए। बाँदरका कारण किसानले खेती गर्न छाडेपछि उत्पादनमा कमी आएका कारण उत्पादन बढाएर किसानका जीवनस्तर सुधार्नका लागि पनि मद्दत पुग्ने पालिकाको लक्ष्य रहेको बताए ।
पालुङटार बाहिर राम्रोसँग हेरिए पनि स्थानीय जनताले नबुझे जस्तो गरेकोमा दुःख व्यक्त गर्दै उनले असम्भव भन्ने केही नरहेकाले यो कार्यक्रमलाई जसरी पनि सफल बनाउन नगरपालिका लाग्ने बताए । पहिले जंगलमा आहालहरू हुने गरेको स्मरण गराउँदै उनले अहिले पानी जम्नेसम्म पोखरीहरू नहुँदा पनि वन्यजन्तुहरू बस्ती पस्न थालेको बताए ।
पोखरी आहाल निर्माण गर्दा पर्यावरणमा पनि सहयोग पुग्ने र बन्यजन्तुहरु बस्ती पस्न कमी आउने उनले बताए । उनले अब सामुदायिक वनमा पिपल, बर, समि, आँप, अम्बा, चिउरी, निमारो, डुम्री, केरा, किम्बु, तिँदु, क्यामुनो र जामुनो जस्ता फलफूलका बिरुवा रोप्दा बाँदर बस्तीमा आउन कमी हुने भएकाले सामुदायिक वनलाई बिरुवा रोप्न आग्रह गरे।
नगरपालिकाले उत्कृष्ट काम गर्ने सामुदायिक वनलाई पुरस्कृत गर्ने र काम नगर्ने वनलाई नवीकरण पनि नगर्ने चेतावनी दिए । ‘एक जना स्थानीयले एक दिन एक घण्टा समय निकालेर बिरुवा रोप्न भयो यो कार्यक्रम सफल बनाउन सकिन्छ,’ उनले भने ‘किसानले सारै नै दुःख पाएका ठाउँमा वनका छेउछाउमा नगरपालिकाले खेती गर्ने योजना बनाएको छ। र, किसानका मुद्दामा गम्भीर भएर लागिरहेको छ।’
उपमेयर वन्दना पाण्डेले कृषि क्षेत्र र कृषकहरूको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले वनको बाँदर वनैमा कार्यक्रम ल्याएको बताइन् । किसानहरू सफल भए मात्र नगरपालिका सफल हुने भन्दै उनले कार्यक्रमलाई सफल बनाउन सबैले हातेमालो गर्न जरुरी भएको बताइन् ।
‘बाटो पिच गर्नु, भवन बनाउनु मात्र विकास होइन,’ उनले भनिन् ‘लोक कल्याणकारी समाज बनाउन तथा कृषि क्षेत्रमा मात्र नभई शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि गम्भीर भएर हामी काम गरिरहेका छौँ।’ नगरपालिकाले २०८३ सम्म बालमैत्री पालिका घोषण गर्ने योजनाका साथ काम गरेको उनको दाबी थियो ।
डिभिजन वन कार्यालय, गोरखाका डिभिजन वन अधिकृत मदन मोहन शाण्डिध्यले नगरपालिकाको यो कार्यक्रम जनपक्षिय भएको भन्दै वन कार्यालयले के कस्तो सहयोग गर्नु पर्ने हो? सबै सहयोग गर्न तयार रहेको बताए । बिउँ, बिरुवा देखि प्रविधि सहयोग गर्न कार्यालय तयार रहेको भन्दै उनले सहकार्य गर्दै अगाडी बढ्ने बताए ।
कार्यक्रममा सहभागीले वनका समि, बर, पिपल तथा बगैँचाहरू मासिँदा बाँदर गाउँमा आउन थालेको बताए । सहभागीहरूले नगरपालिकाको यस कार्यक्रम स्वागत योग्य रहेको भन्दै साथ दिन तयार भएको बताए ।