रौतहट– पटक-पटक आर्थिक विवादमा पर्दै आएका रौतहटको कटहरिया नगरपालिकाका निलम्बित मेयर अजयप्रकाश जैसवालले महिला कार्यपालिका सदस्यलाई कार्यवाहक मेयर बनाउन चलखेल सुरु गरेका छन्। मेयर जैसवाल, उपमेयर रितादेवी यादवसहित ११ जना एकैपटक निलम्बनमा परेपछि अहिले कार्यवाहक मेयर बनाउन चलखेल सुरु भएको छ।
अख्तियारले भ्रष्टाचार मुद्दामा दायर गरेसँगै मेयर जैसवालले कार्यवाहक मेयर बनाउन चलखेल सुरु गरेका हुन्। केही समर्थक नगर कार्यपालिका सदस्यलाई बिहीबार अबेर राति आफ्नै घरमा बोलाएर एक कार्यपालिका सदस्यलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएको निर्णय गराएका थिए।
घरमै बसेर राति गरिएको उक्त निर्णयपछि मुसहर समुदायकी महिला कार्यपालिका सदस्य शुक्रवार मेयरको कुर्सीमा बस्ने योजना बनाएर नगरपालिकामा आएकी थिइन्। तर, बहुमत नगरकार्यपालिका सदस्यहरूले विरोध गरेपछि गोप्य तरिकाले गरिएको निर्णय नगरपालिकामा दर्ता हुन नसकेको वडा ४ का वडाध्यक्ष चन्दन कुशवाहाले बताए।
वडा नम्बर १ का वडाध्यक्ष भूपेन्द्र महतो, २ का वडाध्यक्ष हरेन्द्र साह, ३ का वडाध्यक्ष श्यामाकान्त यादव, ४ का वडाध्यक्ष चन्दन कुशवाहा, ५ का वडाध्यक्ष सर्फलाल प्रसाद, ७ का वडाध्यक्ष महमद सहिद, ९ का वडाध्यक्ष रुपेश यादवसहित उपस्थित १४ जना कार्यपालिका सदस्यले शुक्रवार प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको अध्यक्षतामा नगरकार्यपालिकाको बैठक आह्वान गर्न अनुरोध गरेका थिए।
वडाध्यक्षहरूको अनुरोधमा उपसचिव प्रधानले शुक्रवार बेलुकी ६ बजे कार्यपालिका बोर्डको बैठक आह्वान गर्दै पत्राचार समेत गरेका थिए। पत्राचारपछि वडा ६ का वडाध्यक्ष जयराम चौधरीबाहेक सबै १४ जना नगरपालिकाको सभाहलमा उपस्थित हुँदा प्रमुख प्रशासकीय अधिकृत प्रधान भने बैठकमा अनुपस्थित रहे।
मेयर जैसवालको दबाबको कारण प्रशासकीय अधिकृत प्रधान बैठकमा अनुपस्थित भएको वडाध्यक्षहरूले आरोप लगाएका छन्। बैठकमा आयोजक नै अनुपस्थित हुँदा बनेको अन्योलको अवस्थामा वडा ४ का वडाध्यक्ष कुशवाहाले नगरपालिकाको अवस्थाबारे रौतहटका सिडिओ हिरालाल रेग्मीलाई फोन गरेर जानकारी गराएका थिए।
निर्वाचित भएदेखि नै विभिन्न आर्थिक विवादमा पर्दै आएका मेयर जैसवाल निलम्बित भएपछि कार्यपालिका सदस्यलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएर विकास बजेट अनियमितता गर्ने दाउँमा रहेको वडाध्यक्षहरूको आराेप छ।
प्रशासकीय अधिकृत प्रधानले मेयर-उपमेयर निलम्बित भएको अवस्थामा नियमले जे भन्छ त्यही कार्यान्वयन हुने बताए। उनले कसैको दबाब प्रभावमा नपर्ने प्रतिबद्धता जनाए।
उता मेयर जैसवालले नियम अनुसार कार्यवाहक मेयर बनाउन कार्यपालिकासँग स्वयम् अधिकार रहेको बताउँदै लागेको आरोपको खण्डन गरे। सिडिओ रेग्मीले नगरपालिकाको हकमा के हुने? भन्नेबारे संघीय मामिला मन्त्रालयबाट हालसम्म कुनै निर्देशन नआएको बताउँदै नियमानुसार कार्यवाहक मेयर बनाइनु पर्ने बताए।
नगरपालिकाका मेयर र उपमेयरसमेत ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बिहीबार मुद्दा दर्ता गरेपछि उनीहरू निलम्बित भएका थिए। कटहरिया-२ मा जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्स तथा फ्लोरिङको कामका लागि गठन भएको उपभोक्ता समितिले गरेको कम कामलाई बढी देखाएर भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो।
मुद्दा दायर भएकामा मेयर प्रकाश, उपमेयर देवी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियरद्वय राजेशकुमार साह, मो. मकसुद आलम, योजना शाखाका राम नरेश प्रसाद यादव, वडा ८ का वडाध्यक्ष तथा कार्यपालिका सदस्य समिशविक्रम साह, मनोजप्रसाद जैसवाल, उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता चौधरी र सचिव योगेन्द्र साह छन्।
योजनामा नगरप्रमुख प्रकाशले उपभोक्ता समितिलाई १२ लाख ५२ हजार ९ सय ४१ रुपैयाँ भुक्तानी दिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को (ग) र (ङ) बमोजिम कसुरमा बिगो १२ लाख ५२ हजार ९ सय ४१ रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय माग दाबी गरिएको छ।
नेपाली कांग्रेस पार्टीबाट निर्वाचित निलम्बित मेयर जैसवाल भ्रष्टाचारमा लिप्त भएपछि सोही पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू खुलेरै विरोधमा उत्रिएका छन्।