काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको बैठकले एमालेसंग भएको राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धी सहमतिलाई समर्थन गरेको छ। शनिबार बसेको बैठकले उक्त सहमतिलाई स्वागत गर्दै समर्थन गरेको हो।
कांग्रेस र एमालेबीच सरकारको नेतृत्व पहिले एमाले अध्यक्ष केपी शर्मा ओली र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने गरी भएको सहमति थियो।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अब बन्ने सरकार संविधानको धारा ७६ (२) अनुसार नै बन्ने स्पष्ट गरेका छन् । बैठकपछि बोल्दै लेखकले अब संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन हुने बताएका हुन् ।
उनले भने- ‘राष्ट्रिय सहमतिको सरकारका निमित्त कांग्रेस र एमालेबीच सहमति भएको छ । त्यो सरकार नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बन्ने सरकार हो । त्यो सरकार एमाले अध्यक्ष केपी ओलीजीको नेतृत्वमा बन्छ ।’
लेखकले संसदीय दलको बैठकले कांग्रेस–एमालेबीच भएको सहमतिलाई स्वीकार गर्दै कार्यान्वयन गर्न प्रतिबद्धत जनाउने निर्णय गरेको जानकारी दिए ।
एमालेले कांग्रेससंग सहमति गरेर सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा असार २८ गते विश्वासको मत लिने भएका छन्। कांग्रेस संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय पनि गरेको छ।
एमालेले सरकारलाई दिएको समर्थन असार १९ गते फिर्ता लिइ त्यही दिन पार्टीका ८ मन्त्रीलाई राजीनामा दिन लगाएको थियो। एमाले र कांग्रेसबीच असार १७ गते मध्यराति नयाँ समीकरण बनाउने समहति भएको थियो।