मकवानपुर– बकैया गाउँपालिकाले एसईई-०८० को नतिजा सम्बन्धी झुठो विवरण सार्वजनिक गरेको खुलासा भएको छ। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तथ्यलाई लुकाएर भ्रामक जानकारी दिएको हो।
पालिकाले सार्वजनिक गरेको विवरणमा ४०४ विद्यार्थीले परीक्षा दिएको, ५२ जना उत्तीर्ण भएको र २ विद्यालय निल गएको उल्लेख गरिएको थियो। तर वास्तविक तथ्याङ्क अनुसार ४०३ विद्यार्थीले परीक्षा दिएको, ४६ जना मात्र उत्तीर्ण भएको र ४ विद्यालय निल गएको शिक्षा समन्वय इकाई हेटौँडाले जनाएको छ।
गाउँपालिकाभित्रका ११ विद्यालयमध्ये ४ वटा विद्यालयमा सबै विद्यार्थी अनुत्तीर्ण भएका छन्। यो तथ्यलाई लुकाएर पालिकाले २ विद्यालय मात्र निल गएको भनी झुटो जानकारी दिएको पाइएको छ।
बकैया गाउँपालिकाको शिक्षा शाखाका प्रमुख आइतराम तामाङले स्पष्टीकरण दिँदै भने, ‘कालिका माविमा गत वर्ष असफल भएका एक पूरक परीक्षार्थी यस पटक उत्तीर्ण भए पनि नियमिततर्फ भने एक जना पनि विद्यार्थी उत्तीर्ण नभएको हो।’
कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापकले कुल १७ जना मध्ये १६ जना नियमिततर्फ र १ जना पूरक परीक्षार्थी रहेको र पूरकतर्फका परीक्षार्थी मात्रै उत्तीर्ण भएको बताए ।