काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संबिधान संशोधन गर्ने हो भने खुला छलफल गरेर कार्यकारी राष्ट्रपतिमा जान आग्रह गरेका छन् ।
प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धि प्रस्ताव पेश गर्दै कांग्रेस र एमालेलाई लक्षित गर्दै संबिधान संशोधन नै गर्ने हो भने कार्यकारी राष्ट्रपति प्रणालीमा जान आग्रह गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाको सबै भन्दा ठुलो दल माओवादी केन्द्र बिना संबिधान संशोधन कसरी गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।
उनले भने, ‘म भन्न चाहन्छु, ४७ सालदेखि ६३ सलसम्म तपाईँहरूले भनेकोजस्तै व्यवस्था र अवस्था थियो नि । स्थायित्व थियो त त्यतिबेला ? १६ वर्षमा १५ वटा सरकार बनाउने तपाईँहरू नै होइन ? स्थिरता हो त्यो ? समानुपातिक समावेशी नभएपछि सबै ठिक हुन्छ ? संविधान संशोधन नै गर्ने हो भने आउनुस् खुला छलफल गरौँ । प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऊँ । दलित र महिलाको प्रतिनिधित्व अझै बढाऊँ । विपन्न वर्गको पहुँच बढाएर लैजाऊँ । फेरि महिला, दलित, आदिवासी, मुस्लिम, धार्मिक अल्पसंख्यकलाई पहिलेजस्तै राज्यका निकायमा प्रतिनिधित्वविहीन बनाउने षडयन्त्र अब नेपालमा किमार्थ सफल हुने छैन । हिजो जसको प्रतिनिधित्व केवल प्रतिकात्मक र निरंकुश सामन्तहरूको दयामा आधारित थियो । त्यो सुनिश्चित भएको छ ।’