काठमाडौं– एमालेका सचिव योगेश भट्टराईले बाध्यात्मक अवस्थामा कांग्रेस-एमाले एक ठाउँमा आउनु परेको बताएका छन् ।
प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता भट्टराईले बाध्यात्मक अवस्थामा अहिले दुई ठुला दल मिलेको बताएका छन् ।
भट्टराईले प्रधानमन्त्री प्रचण्ड अब संसद्को रोष्ट्रममा प्रधानमन्त्रीको हैसियतले बोल्न नपाइने ढंगले आज प्रस्तुत भएको बताएका छन् ।
प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले सत्ता गुमेको आक्रोश पोखेको बताए ।
उनले भने, ‘उहाँको भाषण सुन्दा सायद प्रधानमन्त्रीको हैसियतले संसद्को रोष्ट्रममा भाषण गर्ने दिन फर्किँदैन कि भन्ने ढंगले प्रस्तुत हुनुभयो । त्यसैले होला थुप्रै आक्रोश पोख्नुभयो । गलत सूचना दिनुभयो । सम्भवतः यहाँ बोलेका प्रश्नहरूको जबाफदेहिता आजमात्रै सीमित हुँदैन । उहाँ बाचुञ्जेलसम्म दिनुपर्छ भन्ने बुझेर बोलेको भए हुन्थ्यो ।’
भट्टराईले प्रधानमन्त्री प्रचण्डले संसद्मा आक्रोश पोखेको र गलत सूचना दिएको आरोप लगाएका छन् । उनले मुलुकको अर्थतन्त्रलाई सही दिशा दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्नुपर्ने, विदेश गइरहेका युवाहरूलाई देशमै अवसर सिर्जना गर्नुपर्ने अवस्थामा संसद् विश्वासको मत लिने विषयमा मात्र केन्द्रित भएर बस्न नसक्ने बताए ।
सांसद भट्टराईले कांग्रेस र एमाले एक ठाउँमा आउनुपर्ने बाध्यात्मक अवस्था आएको टिप्पणी गरे ।
उनले सामान्यता सांसदका दुई ठुला दल मिलेर सरकार बनाउनुलाई राम्रो मानिँदैन । तर अहिले बाध्यात्मक अवस्थामा दुई दल एक ठाउँमा आउनुपरेको स्पष्ट गरे ।