काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले नयाँ सरकारका लागि हस्ताक्षर गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको आव्हान गर्नासाथ सरकारको दाबि पेश गर्न दुवै दलका सांसदहरुले हस्ताक्षर गरेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आ-आफ्नो पार्टीको तर्फबाट सरकारमा दाबि पेश गर्ने निवेदनमा हस्ताक्षर गरेका छन् ।
कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर आफूहरु राष्ट्रपति समक्ष जाने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्ड पदमुक्त हुने बित्तिकै उनले संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । प्रवक्ता महतले उनले ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री हुनेमा कुनै समस्या नरहेको दावी समेत गरे ।
उनले भने, ‘हामीले पहिलो चरणमा ओलीजीलाई समर्थन गर्ने भनेका छौं । त्यसमा हामी प्रतिवद्ध छौं । त्यही अनुसार हाम्रो प्रस्ताव राष्ट्रपति कहाँ जान्छ ।’
सबैभन्दा ठूलो दलको सहमति रहेकाले ओलीलाई ७६ (२) अनुसार प्रधानमन्त्री बन्न समस्या नहुने उनको तर्क थियो । प्रवक्ता महतले सरकार गठन प्रक्रिया अघि बढेपछि पार्टीले मन्त्रीहरु चयन गर्ने पनि बताए ।