काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज मुलुकको ४५ औँ प्रधानमन्त्री नियुक्त हुँदैछन्।
नेपाली कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिअनुसार ओलीले आज चौथोपटक मुलुकको प्रधानमन्त्रीको कार्यभार सम्हाल्न लागेका हुन्।
कांग्रेस र एमालेले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार नयाँ सरकार गठनका लागि दाबी पेस गरेका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्न संसदमा रहेका दुई वा दुईभन्दा बढी दललाई आह्वान गरेका थिए। राष्ट्रपतिले दाबी पेस गर्न दिएको समयावधि आइतबार साँझ ५ बजे सकिँदै छ।
आइतबार साँझ ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। आज प्रधानमन्त्री नियुक्त भएपछि सम्भवतः सोमबार प्रधानमन्त्रीको शपथग्रहण हुनेछ।
को-को बन्दै छन् मन्त्री ?
एमाले र कांग्रेसका बीचमा भएको सहमतिनुसार प्रधानमन्त्रीसहित ९ मन्त्रालय एमालेले र १० मन्त्रालय कांग्रेसले लिनेछ । साना दलबाट एक–एक जना सांसदलाई मन्त्री बनाउने बताइएको छ । सरकारलाई समर्थन गर्ने साना दलहरूलाई समेत मन्त्री बनाउने योजनामा रहेको छ।
एमाले र कांग्रेसका बीचमा भएको सहमतिनुसार अर्थ, सञ्चार एमालेले लिने र गृह, परराष्ट्र कांग्रेसले लिने टुंगो लागिसकेको छ । एमालेले रक्षा, कानुन, स्वास्थ्य, भौतिक पूर्वाधार मन्त्रालयमा पनि दाबी गरेको छ । भौतिकमा कांग्रेसको पनि दाबी छ । भौतिक पूर्वाधार एमालेले लिने र सहरी विकास मन्त्रालय कांग्रेसले लिने धेरै सम्भावना छ । अन्य मन्त्रालय ओली र देउवाले सहमतिमै टुंगो लगाउने बताइएको छ ।
एमालेबाट अर्थमन्त्रीमा विष्णु पौडेलको नाम चर्चामा छ । कांग्रेसबाट गृहमन्त्रीमा रमेश लेखक, परराष्ट्रमन्त्रीमा डा. आरजू राणा देउवाको सम्भावना बढी छ ।
कांग्रेसबाट सरकारको नेतृत्व प्रकाशमान सिंहले गर्ने स्रोतको दाबी छ । पार्टीको १४औं महाधिवेशनमा सिंहले आफूलाई सहयोग गरेकाले देउवाले सिंहको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउन लागेका हुन् । सिंहलाई रक्षा वा संघीय मामिलामध्ये एक रोज्न भनिएको छ । यस्तै, जीवन परियार, चन्द्र भण्डारी, अजयकुमार चौरसियासमेत मन्त्री हुँदै छन् ।
कांग्रेसले १० मन्त्रालय पाउँदा सिंह, लेखक र आरजूबाहेक थुप्रै सांसद मन्त्रीका दाबेदार छन् । आकांक्षीहरूमा दीपक खड्का, रामहरि खतिवडा, तेजुलाल चौधरी, प्रदीप पौडेल, उदयशमशेर राणा, रामनाथ अधिकारी, शंकर भण्डारी, हृदयराम थानी, बद्री पाण्डे, वीरबहादुर बलायर, ऐनबहादुर शाही, ईश्वरी न्यौपानेसहितका नेता रहेका छन् ।
प्रतिनिधिसभामा कांग्रेसका ८८, एमालेका ७७ (सभामुख र एक सांसद टोपबहादुर रायमाझी निलम्बितबाहेक), माओवादी केन्द्रका ३२, रास्वपाका २१, राप्रपाका १४, एकीकृत समाजवादीका १०, जसपाका ७, जनमतका ६, जसपा नेपालका ५, नाउपाका ४ र लोसपाका ४ सांसद रहेका छन् । यस्तै, आजपाका १, नेमकिपाका १, जनमोर्चाका १ सांसद छन् । डा. अमरेशकुमार सिंह र योगेन्द्र मण्डल गरी २ स्वतन्त्र सांसद रहेका छन् ।