काठमाडौं– नेपाली कांग्रेसले मन्त्रीका लागि १० जनाको नाम टुङ्ग्याएको छ । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेस १० मन्त्रीसहित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन लागेको हो ।
नेता सिंह उपप्रधानसहित सहरी विकास, रमेश लेखक गृहमन्त्री हुने छन् । आरजु देउवा राणा परराष्ट्रमन्त्री हुनेछिन् । यस्तै अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुनेछन् । दिपक खड्कालाई जलस्रोत तथा ऊर्जा र ऐनबहादुर शाही वन मन्त्री बन्ने छन् ।
शेखर–गगन समूहलाई स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, पर्यटन र कृषि मन्त्रालय दिइएको छ । तेजुलाल चौधरीको पनि नाम टुंगो लागेको छ । उनले स्वास्थ्य तथा जनसंख्यामा दाबी गरेका छन् ।
बाँकी तीन मन्त्रीमा सहमहामन्त्री जीवन परियार, सांसदहरु प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारी मध्ये ककसलाई पठाउने भन्ने टुंगो लगाउन शेखर कोइरालाले उपसभापति धनराज गुरुङ र महामन्त्री थापासँग परामर्श गर्दैछन् ।
सोही समूहबाट सांसद जीवन परियारलाई मन्त्री बनाउनुपर्ने दबाब पनि बढिरहेको छ। अन्तिम समयमा मन्त्रालय र नाममा केही हेरफेर पनि हुनसक्ने नेताहरूले बताएका छन्।
आज ११ बजे प्रधानमन्त्री ओलीले शपथ ग्रहण गर्ने कार्यक्रम छ ।