काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजतन्त्र नै मुलुकको विकासको बाधक भएको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले जटिल भौगोलिक अवस्था र उत्पादनको साधनको कमीको कारणले पनि नेपाल विकासमा अझै पछि परेको जिकिर गरे।
‘नेपाल हिमाल, पहाड, तराई मधेसमा बाँढिएको भूगोल र आर्थिक, सामाजिक रुपमा पनि असाध्यै सानो परिमाणको उत्पादनका साधन आदिले गर्दा पछाडि परेको हो,’ उनले भने, ‘राजतन्त्रको नेतृत्वमा जुन पुरानो सत्ता रह्यो, त्यसले गर्दा विकासको बाधक बन्यो भन्ने आन्तरिक कुरा। र बाह्य रुपमा सुगौली सन्धिदेखि यता भारतको जुन सेपमा हामी पर्यौँ।’
साथै, उनले भारतसँग खुला सीमानाका कारण पनि नेपालको विकासमा अल्झन आउने गरेको पनि बताए। सुगौली सन्धि लगायतका भारतसँगको असमान सम्बन्धहरुलाई नसच्याएसम्म नेपालको विकास नहुने अध्यक्ष भट्टराईको निष्कर्ष थियो।
‘म अन्धराष्ट्रवादी ढंगले कसैलाई गाली गर्ने पक्षमा छैन। तर के हो भने भारतको अर्थतन्त्र ठूलो छ। हाम्रो अर्थतन्त्र सानो छ। खुला सीमानाका कारण हामीले प्रतिस्पर्धा गर्न सक्दैनौँ,’ डा. भट्टराईले भने, ‘त्यसले गर्दा भारतसँगको जुन हाम्रा असमान सम्बन्ध बन्यो। त्यसले गर्दा यसलाई नसच्याएसम्म नेपालको विकास हुँदैन भन्ने मेरो दुई वटा निष्कर्ष छन्।’
अध्यक्ष भट्टराईले पुराना राजनीतिक नेतृत्वलाई सम्मान गर्दै मुलुकलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याए।