चितवन- भरतपुर महानगरपालिका–२९ स्थित नारायणघाट–मुग्लिङ सडकखण्डमा बस र तेलको ट्याकंर ठोक्किँदा १६ जना घाइते भएका छन्। शनिबार दिउँसो उक्त सडकखण्ड अन्तर्गतको भतेरी भन्ने स्थानमा बस र तेलको ट्याङ्कर एक आपसमा ठोकिएको चितवन प्रहरीले जनाएको छ।
नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस, सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल टयाङ्करको एकापट्टीको भागमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता एवं डीएसपी भेषराज रिजालले जानकारी दिए।
उनका अनुसार, घाइते मध्य ११ जनालाई नयाँ मेडिकल कलेजमा भर्ना गरिएको छ। तीमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ भने १० जना मध्यम घाइते छन्।
यसैगरी पुरानो मेडिकल कलेजमा १ जना र सरकारी अस्पतालमा ४ जनालाई भर्ना गरिएको छ। उनीहरुको अवस्था मध्यम रहेको छ।
प्रहरीका अनुसार घाइतेहरुको परिचय खुलिसकेको छैन। दुवै सवारी साधन प्रहरी नियन्त्रणमा लिइएको डीएसपी रिजालले बताए।
यी हुन् घाइते भएका १६ जना
घाइते हुनेमा बारा निजगढ नगरपालिका–१३ बस्ने बस चालक वर्ष ४१ को लालबहादुर घलान (अवस्था मध्यम), सोही बसका सहचालक तनहुँ भानु नगरपालिका–१ बस्ने वर्ष ३९ को राजेन्द्र क्षेत्री (अवस्था मध्यम), भरतपुर महानगरपालिका–१६ बस्ने वर्ष २६ का विनिता सुवेदी आचार्य (अवस्था मध्यम), विनिताको ४ वर्षका छोरा विप्लव आचार्य (अवस्था मध्यम) रहेका छन्।
यस्तै, तनहुँ बन्दीपुर गाउँपालिका–१ बस्ने वर्ष ५३ को बद्रिकुमार श्रेष्ठ (अवस्था मध्यम), भानु–४ बस्ने वर्ष ४१ का सृजना रानाभाट (मध्यम), सोही स्थानको २५ वर्षकी अमृता रानाभाट (अवस्था मध्यम), तनहुँ ब्यास नगरपालिका–१२ बस्ने वर्ष ६० को झलकबहादुर थापा (अवस्था मध्यम), म्याग्दी गाउँपालिका–१ बस्ने वर्ष ३३ का मनमाया आले (अवस्था मध्यम), मनमायाको ७ वर्षीय छोरा ऋषभ आले (अवस्था मध्यम) रहेका छन्।
तनहुँ व्यास–१ बस्ने वर्ष २९ का अमृता थापा (अवस्था मध्यम), लमजुङ सुन्दर बजार–१० बस्ने वर्ष ३२ को पदम भुजेल (अवस्था मध्यम), तनहुँ व्यास–१ बस्ने वर्ष ४३ का कमला माया थापा (अवस्था मध्यम), तनहुँ व्यास–६ बस्ने वर्ष २७ को निरज गिरी र निरजका ५ वर्षका छोरा सुलभ गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए।
उनका अनुसार बन्दीपुर गाउँपालिका–१ बस्ने ५३ वर्षीया सिर्जना श्रेष्ठको भने अवस्था गम्भीर रहेको छ।